काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा आगामी प्रतिनिधिसभा निर्वाचनका लागि देशभर लोकप्रियताको नयाँ उचाइमा पुगेका छन् ।
पार्टीको निर्देशनअनुसार जिल्लाहरूले आ–आफ्नो सहमतिमा उम्मेदवार सिफारिस गर्दै गर्दा महामन्त्री थापा तीन महत्वपूर्ण जिल्लाहरु; सर्लाही, धनकुटा र रोल्पाबाट एकैसाथ सिफारिस भएका हुन् ।
यसरी सिफारिस हुनुले उनलाई देशव्यापी रूपमा विश्वास र सम्मानको पात्रका रूपमा स्थापित गराइरहेको छ ।
सर्लाही–४ बाट थापाको नाम प्रमुखतापूर्वक सिफारिस गरिएको छ । धनकुटा जिल्ला कार्यसमितिले प्रत्यक्षतर्फ पहिलो नम्बरमा उनलाई राखेर प्रस्ताव गरेको छ, जसले स्थानीय कांग्रेसभित्रै उनको प्रभाव र विश्वास स्पष्ट देखाउँछ ।
त्यस्तै, रोल्पाबाट समेत थापाको नाम सिफारिस हुँदै गर्दा उनको राष्ट्रिय पहुँच र जनस्तरमा बढ्दो लोकप्रियता अझ बलियो बनेको छ ।
रोल्पामा थापाप्रति देखिएको उत्साह विशेष महत्वको विषय बन्यो । माओवादी आन्दोलनको उद्गमस्थल मानिने रोल्पामा गरिएको हालैको कार्यक्रममा हजारौँ जनताको उपस्थिति, बाटोभरिका बासिन्दाहरूले घण्टौँ कुरेर उनलाई स्वागत गरेको दृश्य, र लिवाङमा दशकौँयता नदेखिएको भव्य कांग्रेस सभा- यी सबै संकेतहरूले थापालाई देशका प्रभावशाली र लोकप्रिय युवानेताका रूपमा दृढतापूर्वक उभ्याएका छन्।
रोल्पा कांग्रेसका सभापति किशोरकुमार आचार्यले भने, “महामन्त्री थापा प्रभावशाली र लोकप्रिय युवानेता भएकै कारण रोल्पाली जनताले उहाँलाई सिफारिस गरेको हो ।”
धनकुटा र सर्लाहीमा पनि थापाप्रति देखिएको समान सम्मानले उनको देशव्यापी स्वीकार्यता झल्काउँछ ।
परम्परागत क्षेत्र काठमाडौं–४ बाट समेत उनको नाम सिफारिस हुन लागिरहेको अवस्थामा, विभिन्न भौगोलिक र राजनीतिक परिवेशका मतदाताबाट पाएको समर्थन थापालाई राष्ट्रिय नेता बन्ने बाटोतर्फ बलियो कदम साबित भइरहेको छ ।
गगन थापाप्रति प्रदेशदेखि ग्रामिण तहसम्म फैलिएको विश्वास, उनको स्पष्ट दृष्टि, ऊर्जाशील नेतृत्वशैली र प्रभावशाली जनसंपर्क क्षमताका कारण उनलाई सिफारिस गरिएको स्थानीय नेताहरूको धारणा छ।
रोल्पादेखि धनकुटा र सर्लाहीसम्म उठेको व्यापक जनआवाजले थापाको राजनीतिक भविष्यलाई अझ ऊर्जावान् बनाइरहेको छ- र आगामी चुनावमा उनको भूमिकाबारे देशभर चासो बढाइरहेको छ ।
यसअघि महामन्त्री विश्वप्रकाश शर्माले एक टेलिभिजन अन्तर्वार्तामा आगामी चुनावमा कांग्रेसले गगनको नेतृत्वमा जानुपर्ने र उनलाई नै प्रधानमन्त्रीको रुपमा देशभर अभियान चलाउनुपर्ने बताएका थिए ।
देशभरका विभिन्न जिल्लाबाट सिफारिस हुने सम्भवत: कांग्रेसको पहिलो नेता नै थापा हुन् । यसले आगामी महाधिवेशनमा कांग्रेसले गगन थापालाई नेतृत्वमा देख्न चाहेको सन्देशसमेत प्रभाव गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।