काठमाडौं । नेपाली कांग्रेसले पुस १६ गतेदेखि सुरु हुनेगरी नियमित महाधिवेशनको समय तालिका औपचारिक रूपमा तय गरेसँगै पार्टीको आगामी नेतृत्वका लागि रस्साकस्सी तीव्र बनेको छ । पुस १६ गतेदेखि सुरु हुने महाधिवेशनका विभिन्न चरणहरू तोकिएपछि नयाँ महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया तीव्र बन्दै गइरहेको छ । यही नियमित प्रक्रियाले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई सभापति प्रतिस्पर्धामा सहज बनाउने वातावरण तयार गरेको पार्टीकै नेताहरुले बताइरहेका छन् ।
विशेषगरी नियमित महाधिवेशनबाट आउने नयाँ पुस्ता, युवाहरू र स्थानीय तहमा स्थापित सुधारवादी धारका प्रतिनिधिहरूले नेतृत्व परिवर्तनका लागि खुला मत राख्दै आएका छन्, जसले थापाको सभापति अभियानलाई थप उर्जा दिने अपेक्षा गरिएको छ । थापाका लागि सहजता बढाउने प्रमुख कारणमध्ये पहिलो, नियमित महाधिवेशनमार्फत धेरै नयाँ महाधिवेशन प्रतिनिधिहरू आउने सुनिश्चितता हो । क्रियाशील सदस्यतादेखि महाधिवेशन प्रतिनिधिसम्मको संरचनामा ठूलो संख्यामा युवाहरू आउने छन् । यिनै प्रतिनिधिहरूले परिवर्तनशील नेतृत्व, नयाँ सोच र संगठनमा पारदर्शिता चाहने भएकाले उनीहरू गगन थापालाई आफ्नो भावनाबाट नजिक ठान्छन् ।
दोस्रो, पुस १४ भित्र क्रियाशील सदस्यता अन्तिम टुंगो लगाउने निर्णयले संरचनालाई पारदर्शी बनाउँदै मनपरी सूची विस्तार वा अन्तिम समयमा पक्षपोषण गर्ने प्रयासलाई कमजोर बनाएको छ । सदस्यता विवादहरू समयमै टुंगो लागेपछि पछि सूची थपेर लम्ब्याउने र आफू अनुकूल नाम थपघट हुने सम्भावना नहुँदा पनि थापालाई नै सहज हुने देखिन्छ ।
तेस्रो, विशेष महाधिवेशनको चर्चा समयक्रमसँगै फिका बन्दै गएको छ । थापाले नियमित महाधिवेशनबाटै सबै विवाद समाधान गर्नुपर्ने र कुनै नियत देखाएर तालिका तलमाथि पार्ने प्रयास भए विशेष महाधिवेशन सक्रिय हुन सक्ने चेतावनी स्पष्ट रूपमा दिएका थिए । पार्टी कार्यसमितिको बैठकपछि उनले यही विचार लिखित रूपमा अभिलेखमा दर्ता गराएका छन्, जसले नेतृत्वमा पारदर्शिता र आन्तरिक जवाफदेहिताको खोजी गरिएको छ । उनको यही अडानका कारण पार्टीका युवा नेताहरु विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, गुरु घिमिरेलगायतका नेताहरुको बलियो साथ पाएका छन् । पार्टीमा युवा नेताहरु एक ठाउँमा उभिँदा त्यसले पुस्तान्तरण र रुपान्तरणको सन्देश देशभर प्रवाह गरेको छ ।
चौथो, महाधिवेशन र आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन तयारीलाई सँगसँगै अघि बढाउन सकिने उनको रणनीतिले उनीलाई व्यवस्थापकीय रूपमा सक्षम नेता साबित गरेको छ । केहीले महाधिवेशन र निर्वाचन तयारी एकैसाथ सम्भव नहुने चिन्ता व्यक्त गर्दा थापाले सर्लाहीमा आयोजित पत्रकार सम्मेलनमा पार्टी दुवै चुनौती सामना गर्न सक्षम रहेको, महाधिवेशन छोटो समयमा सकेर चुनावमा पूर्ण रूपमा होमिन सकिने स्पष्ट जवाफ दिएका थिए ।
पाँचौँ, हालको राष्ट्रिय सुरक्षा तथा राजनीतिक वातावरणमा पनि थापाको सक्रिय भूमिका देखिएको छ । जेनजी प्रदर्शनपछि फरार कैदीबन्दी र लुटिएका हतियार चुनावका लागि जोखिम बन्न सक्ने तथ्य उनले सरकारलाई औपचारिक रूपमा अवगत गराइसकेका छन् । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वदलीय बैठकमा पनि थापाले सबै दल र समूहले चुनावमा सहभागी हुन पाउनुपर्नेमा जोड दिए । यस्तो जिम्मेवार अभिव्यक्ति, राष्ट्रिय मुद्दामा तत्परता र चुनावप्रतिको प्रतिबद्धताले उनको सभापति अभियानलाई नैतिक रूपमा मज्बुत बनाएको छ ।
महाधिवेशन नजिकिँदै जाँदा थापा नयाँ नीति, नयाँ सन्देश र नयाँ पुस्ताको नेतृत्व प्रस्तावसहित देशव्यापी दौडाहा गर्ने तयारीमा छन् । काठमाडौँबाटै आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारी प्रकट गर्दै उनले सुधारवादी धारलाई संस्थागत गर्ने वाचा गरेका छन् । नियमित महाधिवेशनको वातावरण स्थिर बनेसँगै कांग्रेसभित्र नेतृत्व हस्तान्तरणको सम्भावना उच्च भएको र त्यसको केन्द्रमा गगन थापा देखिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।