आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

शेरबहादुर देउवा : लोकतन्त्रका लागि बारम्बार ज्यान सुम्पने नेता

शेरबहादुर देउवा : लोकतन्त्रका लागि बारम्बार ज्यान सुम्पने नेता

  • कृष्ण प्रसाद पहाडी
  • आइतवार, आश्विन ५ २०८२

  • 15.0K
    SHARES

  • शेरबहादुर देउवा : लोकतन्त्रका लागि बारम्बार ज्यान सुम्पने नेता

    कृष्ण प्रसाद पहाडी

    जसको रगत लोकतन्त्रको माटोमा मिसिएको छ, जसको पसिनाले इतिहासलाई भिजाएको छ, र जसको आँसु पनि जनताको आँसुमा घुलमिल भएको छ— त्यो पात्र इतिहासमा अमर हुन्छ । नेपालको राजनीतिक यात्रामा यस्तै अमर पात्रको नाम हो- शेरबहादुर देउवा ।

    देउवा-  विसं २००३ साल जेठ ३१ गते सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा रहेको एक साधारण किसान परिवारमा जन्मिएर मुलुकको पाँच पटक प्रधानमन्त्री भइसकेका पात्र हुन् ।

    साधारण किसान परिवारमा जन्मिएका उनको जीवनशैली संघर्ष र जोखिमहरुसँग पौठेजोरी खेल्दै बित्यो । सानो उमेरमा नै क्रान्तिकारी स्वभावका देउवा उच्च शिक्षाका लागि २०२१ सालतिर काठमाडौंको त्रिचन्द्र कलेजमा अध्ययन गर्न आएका शेरबहादुर देउवा नेविसंघको राजनीतिमा सक्रिय भए । नेविसंघ स्थापना पूर्व बीपी कोइरालाद्वारा गठित अर्जुननरसिंह केसी संयोजक रहेको विद्यार्थी भेला आयोजक समितिमा रामचन्द्र पौडेलसँगै देउवा पनि सदस्य थिए ।

    दलहरु प्रतिबन्धमा भएको समय २०२७ सालमा नेपाल विद्यार्थी संघको स्थापना भयो । नेविसंघको संस्थापक सभापति विपिन कोइराला बने भने २०२८ सालमा २५ वर्षको कलिलो उमेरमा नै देउवा नेविसंघको दोस्रो सभापति बने । यसबीच पटक-पटक उनले जेल जीवन बिताउनु पर्‍यो । विपी कोइराला २०३३ सालमा मेलमिलाप अभियान लिएर नेपाल फर्किएपछि फेरि देउवालाई नेविसंघको सभापति बनाए ।

    वीपीले जहाँ जाँदा पनि देउवालाई साथै लैजान्थे । देउवालाई धेरै काखी च्यापेको भनेर पार्टीभित्र गुनासो बढेपछि वीपीको जवाफ थियो, 'यो जे कुरा पनि सिक्न खोज्छ, अरुले चासो दिँदैनन् ।'

    २०३४ साल टुँडिखेलको आमभेलामा बीपी कोइरालाले ‘शेरे सुदूरपश्चिम’ भनेपछि देउवाको चर्चा थप चुलिएको थियो । सुदूरपश्चिमको मध्यवर्गीय परिवारमा जन्मिएर एकतन्त्रीय पञ्चायती शासनविरुद्ध शंखघोष गरेको पार्टीका संस्थापक नेताको नजरमा पर्नु सानो संघर्ष भने थिएन । आफ्नो जीवनको युवाअवस्थाका कयौं स्वर्णीम दिनहरु प्रजातन्त्रका लागि पञ्‍चायती शासन व्यवस्था विरुद्ध लड्दा कालकोठरीमा बिताएका थिए । जसका कारण उनले मुलुकका नागरिकलाई पञ्‍चायत दिएको दु:खहरु दूर गर्न संघर्षरत रहँदा भोगेको कालकोठरीको अनुभवले थप दृढ भएर बाहिर निस्कन्थे ।

    नेपाली राजनीतिक इतिहासमा कठिनाई, अपमान, आक्रमण र असंख्य षड्यन्त्रको छायाँबीच पनि जीवनभर लोकतन्त्रको रक्षा गरिरहने राजनीतिज्ञको नाम हो, शेरबहादुर देउवा ।

    २०४० सालको फागुन २० गते, रुपन्देहीको सुरजपुरामा भएको हमला नेपाली लोकतान्त्रिक आन्दोलनको कालो दिन थियो । गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, रामचन्द्र पौडेल  र शेरबहादुर देउवामाथि भएको त्यो सुनियोजित आक्रमणमा धेरैले ज्यान गुमाए, सयौं घाइते भए । त्यही दिन, बाँसको भालाले प्रहार गर्दा देउवाको ओठ चिरिएको निशान आज पनि उनको अनुहारमा छ । त्यो केवल शारीरिक घाउ होइन, लोकतन्त्र रक्षाका लागि भोगेको यातनाको प्रतीक हो ।

    पञ्‍चायत कालमा मात्र होइन, बहुदली प्रजातन्त्र स्थापनापछि पनि देउवामाथि पटक-पटक ज्यान लिने तरिकाले भौतिक आक्रमणहरु भएका छन् । २०५९ सालमा, जब माओवादी द्वन्द्व उत्कर्षमा थियो, देउवामाथि कैलालीको आमखैयामा भएको आक्रमण इतिहासकै भयावह घटना मध्ये एक हो । माओवादी लडाकुले अन्धाधुन्ध एलएमजीले गोली चलाउँदा उनको गाडीमा तीन गोली लागे । तर, नियति देशलाई लोकतन्त्र दिलाउने नेता बच्नै पर्ने थियो । त्यो क्षणमा पनि देउवा आत्तिएनन् । उनको संयमता र सुरक्षाकर्मीको साहसले उनलाई बचायो । त्यो केवल देउवाको ज्यानको रक्षा मात्र होइन, लोकतान्त्रिक यात्राको निरन्तरता पनि थियो ।

    मुलुक माओवादी द्वन्द्वको अवस्थाबाट शान्ति प्रक्रियामा गएर संविधान सभाको निर्वाचन भइसक्दा पनि शेरबहादुर देउवामाथिको आक्रमण रोकिएको थिएन । २०६६ सालमा तरुण दलको कार्यक्रममा भाग लिन चितवन पुगेका देउवालाई माओवादीले आक्रमण गरेका थियो । आक्रमणबाट उनको निजी गाडीमा क्षति पुगेको पनि देउवा सकुशल बच्न सफल भए । देउवा आउने थाहा पाएर बिहानैदेखि लाठीसहित तम्तयार माओवादीले उनी विमानस्थल झरेर खाना खाएपछि आक्रमण गरेका थिए । त्यसअघि माओवादी शान्ति प्रक्रियामा आएर वार्ता गर्ने तयारि गरिरहेको समयमा दाङमा पनि उनको गाडीमाथि गोली वर्षाइएको थियो । यद्पि त्यहाँ पनि उनी बाँच्न सफल भए ।

    पछिल्लो समय भने एक वयोवृद्ध शरीरमाथि नाती पुस्ताले गरेको भौतिक आक्रमण जति निन्दा गर्दा पनि कम नै हुन्छ । अहिलेको जेनजी पुस्ता भनिने कति संस्कारहीन रहेछ भन्‍ने कुरा पनि त्यसले प्रमाणित गर्छ । उनी दोषी थिए भने राज्य संरचनामा कारबाही गर्ने निकाय थिए, घर लुटपाट गर्नकै लागि एक वृद्ध शरीरमाथि त्यसरी आक्रमण गरिनु आतंकवादी सोंचको उपजबाहेक केही पनि होइन ।

    हिजो पञ्‍चायत निशानामा परेका देउवा, माओवादीले पनि पटक-पटक आक्रमण गर्यो, शान्ति प्रक्रियापछि पनि आक्रमणमा परेका देउवा संघीय लोकतान्त्रि व्यवस्थामा पनि ज्यान लिने गरी आक्रमण गरिएको छ । जो व्यक्ति सदाबहादर प्रजातन्त्र र लोकतन्त्रको रक्षाका लागि लडिरह्यो, त्यही व्यक्तीलाई जीवनको उतार्द्धमा मरासन्‍न हुने गरी कुट्दा पनि हाँस्ने समाजको सायद मगजमा समस्या हुनुपर्छ ।

    हेर्दा होस्ल्याङे र हडबडे देखिए पनि राजनीतिक परिपक्वता भएका देउवा आफ्नो कुरा प्रष्टसँग राख्छन् र अन्याय र अनैतिकता सहन सक्दैनन् । समकालीन नेताहरु एकपटक पनि पुग्न नसकेको प्रधानन्त्री पदमा पाँच पटक पुग्‍नु नै उनको परिपक्वताको प्रमाण हो । आफू वरिपरिकालाई विश्वासमा लिएर अघि बढ्ने शैली भएका देउवा आफ्नो छत्रछायाँमा रहेका नेता-कार्यकर्तालाई हरदम साथ दिन्छन् ।

    पटक-पटक आक्रमणमा परेका देउवा यो मुलुकको कठिन समयमा छोटो-छोटो समय गरी पाँच पटक प्रधानमन्त्री बने । बहुदली प्रजातन्त्र स्थापनापछि ०४८ सालको आम निर्वाचनपछि बनेको सरकारमा देउवालाई मन्त्रालय रोजाएका थिए । देउवा, रामचन्द्र र शैलजा आचार्यलाई मन्त्रालय रोजाउँदा देउवाले सबैभन्दा अगाडि गृह मन्त्रालय रोजे भने रामचन्द्रले स्थानीय विकास र शैलजाले कृषि मन्त्रालय रोजेकी थिइन् । गृह मन्त्रालय चलाउँदा देउवाको छवि कठोर प्रशासकको जस्तो थियो । तत्कालीन समयमा मदन भण्डारीको रहस्यमय मृत्युपछि एमालेले सडक आन्दोलन गर्दा देउवाले कठोरतापूर्वक सामना गरेका थिए ।

    कांग्रेसभित्र देउवा, पौडेल र शैलजा हाराहारीका नेता मानिन्थे । ०५२ भदौ २७ मा उनी आफ्ना प्रतिस्पर्धीहरुलाई पछि पार्दै पहिलोपटक प्रधानमन्त्री बने । यसलाई उनको राजनीतिक जीवनको टर्निङ प्वाइन्ट मान्न सकिन्छ ।  २०५१ सालको मध्यावधि चुनावमा एमाले ठूलो पार्टी भयो र अल्पमतको सरकार बन्यो । त्यतिबेला दोस्रो ठूलो पार्टीका रुपमा प्रमुख प्रतिपक्षमा थियो कांग्रेस । पार्टीको संसदीय दलको नेता बन्न शेरबहादुर, रामचन्द्र, खुमबहादुर लगायत आधा दर्जनले उम्मेदवारी दिएका थिए । पछि शीर्ष तीन नेता (गिरिजाप्रसाद, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंह) ले सबैलाई उम्मेदवारी फिर्ता लिन लगाए । सहमतिमा नेता छान्ने भनेर अरु सबैले उम्मेदवारी फिर्ता लिए, तर देउवाले लिएनन् । उनी मात्रै उम्मेदवार बाँकी रहेपछि निर्विरोध संसदीय दलको नेता चुनिए ।

    पछि देउवाकै नेतृत्वमा मनमोहन अधिकारी नेतृत्वको एमाले सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरियो । मनमोहनले मध्यावधि चुनावको घोषणा गरे । तर, सर्वोच्चले उक्त घोषणालाई बदर गरिदियो । र, देउवा ०५२ साल भदौ २६ मा पहिलोपटक प्रधानमन्त्री पदमा पुगे । त्यो समयमा मुलुकलाई संकटबाट पार लगाउनु थियो, मुलुकमा माओवादी विद्रोह सुरु भइसकेको थियो, त्यो कठिन परिस्थितिमा उनी पहिलो पटक ४८ वर्षको उमेरमा प्रधानमन्त्री बनेका थिए । २०५८ साल जेठ १९ गते राजा विरेन्द्रको वंशनाश हुने गरी दरबार हत्याकाण्ड भएपछि राजा ज्ञानेन्द्रले गद्दी सम्हाले ।

    तर, प्रधानमन्त्री बनेर त्यो संकटबाट मुलुकलाई पार लगाउन र लोकतन्त्र जोगाउन कोही तयार नभएपछि फेरि ०५८ साल साउन ७ गते देउवालाई नै प्रधानमन्त्री बनाइयो । पछि राजा ज्ञानेन्द्रको महत्वाकांक्षा बढ्दै गयो र लोकतान्त्रिक अधिकारहरु कुण्ठित गर्दै गएर ०५९ साल असोज १८ देउवालाई बर्खास्त गरियो । पछि शान्ति प्रक्रिया सुरु भएपछि मुलुकको प्रतिकूल परिस्थिति सामना गर्ने सबै पछि हटिरहेको समयमा देउवा तेस्रोपटक ०६१ साल जेठ २१ गते प्रधानमन्त्री भए । यसपटक प्रतिगमन आधा सच्चिएको भन्दै एमाले र प्रजातान्त्रिक कांग्रेसको सरकार बनेको थियो ।

    तर, ज्ञानेन्द्रले प्रधानमन्त्री देउवालाई असक्षम बताउँदै पदबाट दोस्रोपटक बर्खास्त गरी १० महिना नजरबन्दमा समेत राखे । कांग्रेसका स्व. नेता प्रदीप गिरीका अनुसार त्यसबेला देउवालाई ज्ञानेन्द्रले क्याबिनेटबाटै निर्णय गराएर सबै कार्यकारी आधिकार प्रत्यायोजन गर्न भनेका थिए । तर, देउवाले प्रजातान्त्रिक अधिकारहरु राजालाई सुम्पिन नसक्‍ने बरु सामना गर्न तयार रहेको भन्दै ज्ञानेन्द्रलाई जवाफ फर्काए । जसको परिणाम देउवामाथि २०६१ माघ १९ मा ‘कु’ गरेर ०१७ सालमा बीपीलाई महेन्द्रले गरेजस्तै नजरबन्दमा राखेका थिए ।

    चौथो पटक नेपालको संविधान २०७२ जारी भइसकेपछि मुलुकलाई संघीयता कार्यान्वयन गराउने, प्रदेश राजधानी तोक्‍ने, प्रदेशको संरचना निर्माण गर्ने र संविधान कार्यान्वयनका लागि तीन तहको निर्वाचन गराउने जिम्मेवारी लिन २०७४ मा चौथोपटक प्रधानमन्त्री बने । यस निर्वाचनमा कम्युनिस्ट एकता गरेर नेकपाले बहुमत ल्यायो र सरकार बनायो । तर, त्यो सरकार धेरै टिक्‍न सकेनन् र ओलीले संसद् विघटन गरिदिए । त्यसपछि कम्युनिस्टहरुले नै मुलुकलाई संकटबाट निकास दिन प्रधानमन्त्री बनिदिन आग्रह गरेपछि २०७८ सालमा देउवा फेरि पाँचौपटक प्रधानमन्त्री बनेका थिए ।

    सन् २००८ देखि २०१२ सम्म सोसलिष्ट इन्टरनेसनलका उपाध्यक्ष रहेका देउवा सन् २०१३ देखि हालसम्म सो संगठनको एशिया क्षेत्रको अध्यक्ष र अन्तर्राष्ट्रिय उपाध्यक्ष छन् । देउवाले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् भने मानविकी र कानूनमा स्नातक गरेका छन् । उनी सन् १९८८-८९ मा बेलायतको प्रतिष्ठित शैक्षिक संस्था लण्डन स्कूल अफ इकोनोमिक्सको राजनीतिशास्त्र विषयका रिसर्च फेलो थिए । हक्की र आफ्नो वचन पुरा गर्न हठी स्वभावका देउवा नेपाली राजनीतिमा नैतिकता र इमान्दारिता हुनुपर्छ भन्‍ने मान्यता राख्छन् ।

    आफूले गर्न नसक्‍ने कामको आश्वासन दिन नहुने मान्यता राख्‍ने देउवालाई पाँच पटक प्रधानमन्त्री बनेको भन्दै खलनायक बनाइएको छ । यद्पि उनका सबल गुण, उनले लोकतन्त्रका लागि गरेको संघर्ष र योगदानका उकालीहरुबारे काठमाडौं बौद्धिक गरिबहरुले कहिल्यै सोच्‍न सकेनन् ।

    लोकतन्त्रका लागि लडेका देउवाले भौतिक आक्रमण, राजाको अपमान, पटक-पटकको भौतिक आक्रमण र नजरबन्द र यातना मात्र होइन, आफ्नै पार्टीभित्र असंख्य आलोचना सहनुपर्‍यो । कहिले फुटको दोष, कहिले सम्झौतावादको आरोप । तर, समयले प्रमाणित गरेको छ- देउवाले हरेक मोडमा संविधान र लोकतन्त्रलाई नै मुल आधार मानेर संघर्ष गरिरहे, कहिल्यै विचलित भएनन् ।

    राजा ज्ञानेन्द्रको निरङ्कुश कदमविरुद्ध उनी झुकेनन् । जेलमा नजरबन्द सहँदा पनि लोकतन्त्रप्रतिको आस्था कमजोर भएन । बहुदलीय प्रजातन्त्र पुनःस्थापनाको आन्दोलनदेखि संघीय गणतन्त्रको संविधान निर्माणसम्म उनको भूमिका निर्णायक रह्यो । उनले शासनको नेतृत्व गर्दा कमैया प्रथा अन्त्य गरे, भ्रष्टाचार निवारण गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सशक्त बनाउने कानुन ल्याए, दलित, महिला, जनजाति र मधेसलाई मुलधारमा ल्याउने अवधारणा (कदमजम) जस्ता महत्वपूर्ण निर्णय गरेका थिए । त्यसैगरी राष्ट्रिय महिला आयोग, आदिवासी जनजाति आयोग, दलित आयोग स्थापना पनि उनको नेतृत्वमा सम्भव भएको थियो । यी संस्थाहरूले पछि लोकतन्त्रलाई मात्र होइन, सामाजिक न्यायलाई पनि मजबुत आधार दिएका छन् ।

    राजनीतिमा आलोचना नहुने नेता हुँदैन । देउवालाई पनि अनेक आरोप लागे- सम्झौतापरस्त, बौद्धिक दृष्टि कमजोर, असफल वक्ता, विलासी जीवनशैली…। तर यी सबै आरोपका बावजूद उनको एउटा मात्र पक्ष कहिल्यै ढलेन-लोकतन्त्रको रक्षा गर्ने प्रतिबद्धता । उनी न त सत्ता गुम्दा विचलित हुन्थे, न कालकोठरीमा बस्दा नै । जीवनमाथि खतरा आउँदा पनि उनले हार मानेनन् । यही हो उनको असली विशेषता-  शेरबहादुर देउवा एक नेता मात्र होइन, योद्धा हुन् भन्‍ने कुरा प्रष्ट हुन्छ ।

    आजको नेपालमा लोकतन्त्रको सुगन्ध जब फैलिन्छ, त्यसमा शेरबहादुर देउवाको पसिनाको गन्ध मिसिएको हुन्छ  । उनले व्यक्तिगत महत्वाकांक्षा भन्दा माथि उठेर संस्थागत लोकतन्त्रलाई बचाउन लडिरहेका छन् । सुरजपुराको रक्तरञ्जित आँगनदेखि माओवादी युद्धको बारुदी मैदान हुँदै बुढानिलकण्ठको निजी निवाससम्म हरेक कालखण्डमा उनको ज्यान लिने गरी भएका आक्रमण सम्झिँदा पनि शरीर काँप्न थाल्छ ।

    शेरबहादुर देउवा केवल कांग्रेसका नेता होइनन्, उनी नेपालको लोकतान्त्रका आत्मा हुन् । उनको जीवनले देखाउँछ- लोकतन्त्र कुनै उपहार होइन, यो रगत, पसिना र आँसुको परिणाम हो । जहाँ आज हामी निर्धक्क उनको रगत पसिना मिसिएको लोकतन्त्रमा उनलाई नै गाली गरिरहेका छौं र भौतिक आक्रमण हुँदा पनि हाँसिरहेका छौं ।

    आज उनको अनुहारमा देखिने घाउ केवल व्यक्तिगत पीडाको निशानी होइन, त्यो हाम्रो पुस्तालाई स्मरण गराउने इतिहासको पानामा दर्ज भएको संघर्षको साक्षी हो, जसले हामीलाई अभिव्यक्ति र स्वतन्त्रताको अधिकार दियो । त्यसैले, इतिहास जब लेखिन्छ, शेरबहादुर देउवा केवल नाम मात्र होइन, लोकतन्त्रको पर्यायवाची शब्द भएर रहनेछ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आश्विन ५ २०८२०३:२३:२८

    कृष्ण प्रसाद पहाडी

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend