पाकिस्तानको बलुचिस्तान प्रान्त दशकौँदेखि अस्थिरताको प्रतीक बनेको छ। प्राकृतिक सम्पदामा धनी तर राजनीतिक र सामाजिक हिसाबले उपेक्षित यो भूभाग आज फेरि राष्ट्रिय एकताको सबभन्दा ठूलो चुनौतीको रूपमा देखा परेको छ। बलुच राष्ट्रवाद यहाँको राजनीति र संघर्षको मूल जरो हो।
स्वतन्त्रताको सपना बोकेका विद्रोही समूहहरू र स्वायत्तताको माग गर्ने दलहरूले लामो समयदेखि इस्लामाबादसँग संघर्ष गरिरहेका छन्। तर पाकिस्तानले यी मागलाई सम्बोधन गर्ने प्रयास नगरी, बलपूर्वक नियन्त्रण गर्ने बाटो रोजेको छ।
सेनाको कठोर दमन, व्यापक गिरफ्तारी, ‘missing persons’ को बढ्दो संख्या र सुरक्षा अपरेसनहरूले बलुच जनतालाई अझै टाढा बनाएको छ। सबैभन्दा संवेदनशील पक्ष भनेको चीन–पाकिस्तान आर्थिक करिडोर (CPEC) हो। यो परियोजना बलुचिस्तानमार्फतै गुज्रिन्छ, विशेष गरी ग्वादर बन्दरगाहमा केन्द्रित छ। तर बलुचहरूका लागि यो विकास नभई उपनिवेशीकरणको अर्को रूपजस्तै भएको छ। उनीहरू भन्छन्, “हाम्रो जमिन, हाम्रो स्रोत, तर फाइदा बाहिरवालालाई।” यस असन्तोषलाई विद्रोही समूहहरूले प्रचार र संघर्षको इन्धन बनाइरहेका छन्। मानव अधिकार उल्लंघन बलुचिस्तानको अर्को कालो अध्याय हो।
परिवारका सदस्यहरू हराउने, शव सडकमा फालिने, युवाहरूलाई बिना मुद्दा हिरासतमा राखिने घटनाहरू सामान्य भइसकेका छन्। अन्तर्राष्ट्रिय मानव अधिकार संगठनहरूले बारम्बार रिपोर्ट प्रकाशित गरेर पाकिस्तान सरकार र सेनामाथि आरोप लगाएका छन्। तर इस्लामाबादका कानमा ती आवाज गुञ्जिएजस्तो लाग्दैन। यो असन्तोष केवल बलुचिस्तानमै सीमित छैन, यसको प्रतिध्वनि सम्पूर्ण पाकिस्तानमा सुनिन थालेको छ। जब देश आर्थिक संकट र राजनीतिक अस्थिरतामा छ, त्यतिबेला बलुच विद्रोहले राष्ट्रिय एकताको कमजोरी अझ स्पष्ट बनाइदिएको छ।
राष्ट्रवाद, चरमपन्थ र अलगाववादी आन्दोलनको मिश्रणले पाकिस्तानलाई आन्तरिक रूपमा चिराचिरा पार्ने खतरा बढाएको छ। बलुचिस्तानको प्रश्न समाधान नगरी पाकिस्तानको राष्ट्रिय एकता सुदृढ हुने सम्भावना छैन। तर समाधान भने केवल बलपूर्वक सम्भव छैन। राजनीतिक संवाद, आत्मनिर्णयका सवालमा सहमति, र स्थानीय अधिकारको ग्यारेन्टी बिना यो संकट टर्ने देखिँदैन।
अहिलेको बाटो—दमन र नियन्त्रण—ले मुलुकलाई केवल थप अस्थिरतामा धकेल्ने निश्चित छ। यसरी बलुचिस्तान केवल एक प्रान्तको मुद्दा मात्र होइन, पाकिस्तानको अस्तित्व र भविष्यको परिक्षण बनेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।