काठमाण्डौ । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय शृङखलामा नेपालले आज घरेलु टोली स्कटल्यान्डसँग खेल्दैछ । खेल डुन्डेको फोर्थहिल मैदानमा दिउँसो पौने ४ बजे शुरु हुनेछ । लिग–२ को आफ्नो चौथो चरणको श्रृङखलामा नेपालले शुरुआती दुई खेल जित्दै तालिकामा चार अङ्क थपेको छ ।
नेपालले गएको सोमवार भएको आफ्नो पहिलो खेलमा घरेलु टोली स्कटल्यान्डलाई एक विकेट र बुधवार भएको दोश्रो खेलमा नेदरल्यान्डसलाई पाँच विकेटले हराएको थियो । नेपाली टोलीले स्कटल्यान्ड भ्रमण अन्तर्गतको श्रृङखलामा आज तेस्रो खेल खेल्न लागेको हो ।
पहिलो खेलमा बलियो मानिएको घरेलु टोलीमाथि एक विकेटको रोमाञ्चक जीत निकालेको नेपाल आज पनि जीतलाई निरन्तरता दिन चाहन्छ । नेपाल र स्कटल्यान्डबीच अहिलेसम्म नौ वटा एकदिवसीय खेल भएको छ । जसमा नेपालले पाँच र स्कटल्यान्डले तीन खेल जितेको छ । एउटा खेल नतिजाविहीन भएको थियो ।
नेपालले पर्सि नेदरल्यान्ड्ससँग खेल्नेछ । नेपालसहित अमेरिका, नेदरल्यान्ड्स, ओमान, स्कटल्यान्ड, क्यानडा, नामिविया र यूएई गरी आठ टोली सहभागी लिग–२ एकदिवसीय विश्वकप सन् २०२७ को छनोट प्रतियोगिता समेत हो ।
सन् २०२७ सम्म चल्ने लिगको अन्तिममा शीर्ष चारमा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउने छ । पुछारमा रहने चार टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ ।
नेपाल १४ खेलमा १० अङ्कका साथ लिगको सातौं स्थानमा छ । स्कटल्यान्ड १८ खेलमा २२ अङ्कका साथ चौथो स्थानमा छ । नेदरल्यान्ड्स २२ खेलमा २६ अङ्कका साथ दोश्रो स्थानमा र अमेरिका २० खेलमा २८ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।