काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीलाई नयाँ पुस्तालाई भरोसा दिन सक्ने बनाउने बताएका छन् ।
शुक्रबार कांग्रेस गोरखाको दोस्रो जिल्ला सम्मेलन उद्घाटन गर्दै थापाले कांग्रेसलाई माओवादीकरण र एमालेकरण हुन नदिइने बताए। उनले कांग्रेसलाई कांग्रेसजस्तै बनाइने बताए।
कोशी प्रदेशमा विकसित राजनीतिक घटनाक्रमतर्फ संकेत गर्दै थापाले कांग्रेसलाई एमाले वा माओवादीकरण हुन नदिइने बताएका हुन्।
‘कांग्रेस पार्टीलाई माओवादीकरण हुन नदिने, एमालेकरण हुन पनि नदिने र कांग्रेसको राप्रपाकरण हुन पनि नदिने हो,’ थापाले भने, ‘कांग्रेसलाई कांग्रेसजस्तै बनाउने हो, यसको छवि उज्यालो बनाउँदै नयाँ पुस्तालाई भरोसा दिन सक्ने बनाउँछौं।’
कोशीमा सत्ता गठबन्धनका तर्फबाट माओवादीका इन्द्र आङ्बोले र कांग्रेसबाट नेता शेखर कोइरालानिकट केदार कार्कीले एमालेसहितको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेपछि राजनीति पेचिलो बनेको छ ।
यसले केन्द्रको गठबन्धनमै असर पुग्ने विश्लेषण गरिएको छ । थापाले २०८२ मा हुने पार्टीको १५औं महाधिवेशनसम्म कांग्रेसलाई कांग्रेसजस्तै बनाइने बताए।
उनले आफूलाई केन्द्रमा राखेर राजनीति नगरिएको पनि बताए । आफूमाथि कहिलेकाहीँ पार्टीभित्रै घेराबन्दी हुने गरेको उनले बताए।
‘घेराबन्दीमा परे पनि केही हुन्न,’ उनले भने, ‘केन्द्रीय समिति बैठकमा एक्लै परिन्छ कहिलेकाहीँ। आफ्नै साथीले पनि साथ छोड्छन्, तर केही छैन पार्टीलाई विधिसम्मत चलाउने हो।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।