काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्षमतामाथि प्रश्न उठेको बताएका छन् ।
बुधबार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले अख्तियारले भ्रष्टाचारका ठूला काण्डलाई मिलाइदिने र ढाकछोप गर्ने गरेको गुनासो आउने गरेको उल्लेख गर्दै आयोगकै विश्वसनीयतामाथि प्रश्न उब्जेको बताए ।
‘अख्तियारले भ्रष्टाचारका ठूला काण्डलाई मिलाइदिन्छ र ढाकछोप गर्छ भन्ने धारणा बनेको छ,’ महामन्त्री थापाले भने, ‘यसले अख्तियारको कार्यक्षमतामाथि प्रश्न उठेको छ ।’
अख्तियारले लाख र करोडका भ्रष्टाचार मात्रै देख्ने तर अर्बौं भ्रष्टाचार नदेख्ने भन्दै नेपाली जनता नै आक्रोशित छन् । पछिल्लो समय अख्तियारले सय र हजार घुस, भ्रष्टाचारमा मात्र केन्द्रित भएको छ । महामन्त्री थापाले अख्तियारका प्रमुख आयुक्त र आयुक्त नियुक्तिको मापदण्ड नबदलेसम्म परिणाम नआउने स्पष्ट पारे ।
‘जरामै समस्या छ । नियुक्तिको भागबन्डा छ । नियुक्तिको मापदण्ड नबदली परिणाम दिँदैन,’ उनले भने, ‘नियुक्तिमा सार्वजनिक सुनुवाइ हुनुपर्छ ।’
राज्य व्यवस्था समितिले आजको बैठकमा अख्तियार प्रमुख प्रेमकुमार राईसहित पदाधिकारीलाई बोलाएको थियो । सांसदहरूले राखेको जिज्ञासाको उत्तर दिँदै राईले नापी, मालपोत कार्यालयमै घुस लेनदेन हुने गरेको बताए । उनले पछिल्लो समय विदेश बसेर भ्रष्टाचारका योजना बुन्ने गरेको दाबी पनि गरे ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।