काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा दुई दिनदेखि बीपी साहित्य महोत्सव चलिरहेको छ ।
कांग्रेसले पहिलोपल्ट बीपीबारे यस्तो महोत्सव राखेको हो । जसले अहिले चौतर्फी प्रशंसा पाइरहेको छ । सोमबार बीपीको राजनीतिक विषयबारे चर्चा परिचर्चा भएको थियो ।
२०३६ सालमा टुँडिखेलमा भएको आमसभालाई सम्बोधन गर्दा बीपी कोइरालाले त्यसभन्दा करिब २० वर्षअघि २०१६ सालतिर राजा महेन्द्रसँगको कुराकानीको प्रसंगबारे विमर्श भएको थियो ।
बीपीले भनेका थिए– ‘२० वर्षअघि राजा महेन्द्रले एउटा कुरा सोधेको स्मरण गर्छु । बीपीबाबु देश कसरी बदल्ने ? मैले राजालाई भनेको थिएँ – म विराटनगरको एउटा मध्यमवर्गीय परिवारमा जन्मिएको हुँ । खान लाउन पुग्ने परिवारको मान्छे हुँ । १५ वर्ष मैले पाउने भए प्रत्येक नागरिकलाई मध्यमवर्गकोजस्तै खानलाउन पुग्ने बनाउने थिएँ । सोमबार यसै विषयलाई केन्द्रमा राखेर कांग्रेस महामन्त्री गगन थापाले राजनीतिक विश्लेषक हरि शर्मालाई सोधे– ‘बीपीले १५ वर्ष पाएको भए के हुन्थ्यो ?’ शर्माले भने, ‘यो कल्पना गर्ने प्रश्न हो । बीपीले पाउनुभएन ।
पाउनुभएको भए के हुन्थ्यो ? उहाँले १८ महिनामा जे काम गरेर देखाउनुभयो । त्यसले नै सबै कुरा भन्छ । बीपीले आफ्नो शासनकालमा जे कुरा सुरु गर्नुभएको थियो, भूमिसुधार, न्यायपूर्ण समाजको सुरुवात हुन्थ्यो । परराष्ट्र नीति अघि बढाउनुहुन्थ्यो ।’ बीपीले आफ्नो शासनकालमा बिर्ता उन्मूलन, विदेशसँगको सम्बधलगायतका काम गरेर देखाएको शर्माले बताए । ‘बीपी समयको उपज हुनुहुन्थ्यो । बीपी पुनर्जागरणको बिम्ब हुनुहुन्थ्यो, परिवेश र परिवर्तनलाई जोड्ने युगान्तकारी नेता हो,’ उनले भने, ‘विश्व आन्दोलनमा योगदान गर्ने क्षमता थियो । अर्काको नक्कल गरेर पनि अघि बढ्न सक्छौँ । परिवर्तन सम्भव छ भन्ने देखाउनुभयो विचारमा दरिलो हुनुपर्छ भन्ने थियो ।’
अर्थशास्त्री एवं विश्लेषक अच्युत वाग्लेले बीपी कोइरालाले त्यसबेला १५ वर्ष पाएको भए मुलुकको अवस्था अर्कै हुन सक्ने बताए । ‘दोस्रो पञ्चवर्षीय योजनाको बीपीले यसरी परिकल्पना गर्नुभएको थियो– योजनावद्ध विकास आवश्यक हो भन्नुभएको थियो । पहिलो पञ्चवर्षीय योजनाको बजेट २२ करोड थियो । दोस्रो पञ्चवर्षीय योजना एक अर्ब ९६ करोडको अनुमान गर्नुभयो । १६ प्रतिशत कृषि उत्पादकत्वमा जोड दिनुभयो । नौ गुणा बढीको अनुमान थियो । एक अर्ब ५२ करोड पुँजीगत खर्च गर्छु भन्नुभयो । उहाँको सबैभन्दा पहिलो काम भूमिसुधारमा सामन्तवाद अन्त्य गर्ने भन्ने थियो । जमिनको बारेमा तीनवटा शब्द भन्नुभएको छ । उत्पादकत्व वृद्धिमा जोड दिनुभएको छ । अहिले गर्नुपर्ने केही छैन । संविधानले भनेको समाजवाद दिन सकियो कि सकिएन ? समान नागरिक हक उपभोग गर्न पायो कि पाएन ? नेतृत्वले पर्खाल बाहिरको कुरा सुन्नुप¥यो ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।