काठमाडौं - ‘लाटो लड्छ एक बल्ड्याङ, बाठो लड्छ चार बल्ड्याङ’ भन्ने उखान नेपाली समाजमा धेरै चर्चित छ ।
यही उखान अहिले एमालेको हकमा चरितार्थ भएको छ । धेरै जान्ने सुन्ने हुन खोज्दा एमाले अध्यक्ष केपी ओलीको अनुहारमा भ्रष्टाचारको कालो धब्बा लागेको छ ।
गत बुधबारको प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि माओवादीका सांसद लेखनाथ दाहाल (राजन) को बोल्ने पालो आयो । उनले विगतमा केपी ओलीको सरकारका पालामा व्यापक भ्रष्टाचार भएको भन्दै लामो फेहरिस्त सुनाए ।
त्यसपछि अन्य सांसदहरूले बोले । कसैले पनि दाहालको अभिव्यक्तिविरुद्ध प्रतिवाद गरेनन् । एमालेका अन्य सांसद पनि नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिए ।
मच्छिन्द्रनाथको भोटोजात्रा देखाउने भएकाले बिहीबार सार्वजनिक बिदा थियो । प्रतिनिधिसभा बैठक बसेन । शुक्रबार बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्ने कार्यतालिका थियो । तर, कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेले निहुँ खोज्न थाल्यो ।
आफ्नो अध्यक्षमाथि भ्रष्टाचारको आरोप लगाएको भन्दै एमाले सांसदहरूले सभामुख देवराज घिमिरेसँग गुनासो गर्न थाले । तर संसद् सहज ढंगले चलाउने सहमतिपछि १२ बजेतिर प्रतिनिधिसभा बैठक सुरु भयो ।
सभामुख घिमिरेले बैठक सुरु गर्ना साथ एमाले सांसदहरू आ–आफ्नो कुर्सीबाट उठे । एमाले प्रमुख सचेतक पदम गिरीले एक्कासि सत्ता पक्षका सांसदले पशुपति मन्दिरमा जलहरी राख्दा भ्रष्टाचार भएको र त्यसमा आफ्नो अध्यक्षमाथि लाञ्छना लगाइएको भन्दै बैठक अवरोध गर्ने बताए ।
त्यसपछि एमाले सांसदहरू नाराबाजी गर्न थाले । एमाले सांसदहरूले नाराबाजी गर्दै सत्तापक्षका सांसदले बोलेको कुरा रेकर्डबाट हटाउन अडान कायमै राखेपछि २० मिनेटका लागि स्थगित बैठक दिनभर बस्न सकेन ।
एकैचोटि संसद् बैठक शनिबारसम्मका लागि स्थगित भनेर सूचना टाँस गरियो । बुधबार, बिहीबारसम्म कतै चालचुल नभएको पशुपति मन्दिरको जलहरीमा भ्रष्टाचार प्रकरणबारे कुन सांसदले बोलेको हो भनेर शुक्रबार १२ बजेपछि खोजबिन हुन थाल्यो ।
बुधबार संसदमा दिएको अभिव्यक्तिका कारण शुक्रबार १२ बजेपछि मात्र सांसद राजन दाहाल चर्चामा आएका हुन् । एमालेले आफ्ना अध्यक्षलाई भ्रष्टाचारी भन्ने ? भन्दै संसद् चल्नै नदिने बताउन थाले । एमालेले यस्तो अवस्थामा आएर संसदमा अवरोध गरेको थियो कि समयमा नीति तथा कार्यक्रम पारित नहुने र बजेट आउन सक्ने अवस्था घर्किंदै थियो ।
यही मौका हो भनेर एमालेले ओलीलाई चोख्याउने बाटो रोज्यो । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा ओलीमाथि लागेको भ्रष्टाचारको आरोप संसदको रेकर्डबाट हटाउने र एमालेले संसद् अवरोध नगर्ने, प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने सहमति भयो ।
सोही सहमतिअनुसार संसद्को रेकर्डबाट सांसद दाहालले बोलेका अभिव्यक्तिका दुई अंश हटाइयो जुन ओलीप्रति लक्षित थियो ।
संसदको रेकर्डबाट हटाए पनि पशुपति मन्दिरको जलहरी काण्डले ओलीको भ्रष्टाचारको मुखुण्डो भने धेरैका सामु उदांग पारिदिएको छ ।
एमालेले जतिसुकै ढाकछोप गरे पनि ओलीको पालामा भ्रष्टाचार भएको तथ्य जनतासामु उजागर भएको छ । यदि एमालेले संसदमा नाराबाजी नगरी बैठक अवरोध नगरेको भए राजन दाहालले के बोले भनेर कसैले थाहा पाउँदैनथे । खोजीखोजी दाहालको भिडियो सामाजिक सञ्जालमा छरपस्ट हुँदैनथ्यो ।
यती, ओम्नी, वाइडबडी, बतास, कोरोनाकालमा स्वास्थ्य सामग्री खरिद गर्दा करोडौं भ्रष्टाचार भएको तथ्य सार्वजनिक भइसकेको छ । यी सबै विषयमा महालेखा परीक्षकको प्रतिवेदनमा समेत उल्लेख छ ।
पशुपति मन्दिरको सुनको जलहरीमा करिब आठ करोड भ्रष्टाचार भएको महालेखाकै प्रतिवेदनमा समेटिएकाले एमालेलाई यो काण्डले धेरै क्षति पुग्ने अनुमान गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।