काठमाडौं - बागमती प्रदेश सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार सरकारलाई पूर्णता दिएका हुन् ।
दोस्रोपटक विश्वासको मत लिएपछि उनले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका थिएनन् । बागमतीमा कांग्रेसले ६, माओवादीले चार र एकीकृत समाजवादीले दुईवटा मन्त्रालय पाएका छन् ।
प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषदलाई बढाएर १२ सदस्यीय बनाइएको छ । एकजना मन्त्रीलाई विनाविभागीय राखिएको छ । कांग्रेसबाट मन्त्रीमा नियुक्त रामकृष्ण चित्रकारलाई कुनै मन्त्रालय दिइएको छैन ।
आगामी आर्थिक वर्षको बजेट आएपछि मन्त्रालय टुक्र्याएर १२ पु¥याइने भएको छ । यसपटक कांग्रेसले पाएको ६ वटा मन्त्रालयमा सबै बहादुरसिंह लामा पक्षका मात्र छन् ।
प्रदेशमा संस्थापन पक्षको पकड छ । कांग्रेस बागमती प्रदेश दलका नेता लामा र प्रदेश सभापति इन्द्र बानियाँ दुवै सभापति शेरबहादुर देउवा निकट हुन् ।
तर संसदीय दलको नेताको चुनावमा लामा र बानियाँ प्रतिस्पर्धामा उत्रिएका थिए । आफूसँग चुनाव भिडेको रिसमा लामाले बानियाँ निकट एकजना सांसदलाई मन्त्री बनाएनन् ।
बागमती प्रदेशमा कांग्रेसबाट लामा, रामकृष्ण चित्रकार, उत्तम जोशी, पुकार महर्जन, तीर्थ लामा र मसिना खड्का मन्त्री बनेका छन् ।
बागमतीमा मन्त्री कसलाई पठाउने भन्ने विषयमा पार्टी उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्का निवासमा शनिबार बैठक बसेको थियो ।
कांग्रेसका अधिकां प्रदेश सांसद उपस्थित थिए । लामाले यसपटक आफूनिकट बाहेक कसैलाई पनि मन्त्री बनाउन नसक्ने भनेर हिँडेका थिए ।
संसदीय दलको निर्वाचनमा आफूलाई भोट हालेर जिताएको गुण तिर्न पनि निकटलाई मात्र मन्त्री बनाउने उनले बताएका थिए ।
दलको निर्वाचनमा लामाले झन्डै दुई करोड खर्च गरेको कांग्रेस नेताहरू बताउँछन् । लामालाई दलको नेता जिताउन पार्टीकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, कुन्दन काफ्लेले कमान्डरको जिम्मा लिएका थिए ।
चुनावकै दिन लाइनमा रहेका काफ्लेको गोजीबाट दुई लाखको बिटो खसेको थियो । त्यो दृश्य देखेपछि सबै कांग्रेस सांसदले मुखामुख गरेका थिए ।
सिन्धुलीका दुई सांसदलाई २०–२० लाख दिइएको कांग्रेसमा चर्चा छ । बहादुरसिंह लामा निर्माण व्यवसायी हुन् । तर केही समयदेखि उनको ठेकेदार कम्पनी टाट पल्टिएको छ ।
समयमा काम सम्पन्न नगरेको भन्दै सरकारले उनको लामा कन्स्ट्रक्सनलाई कालोसूचीमा राखेको छ । सोही कारण उनले चुनावमा रसुवाका कांग्रेस सांसद मोहन आचार्यसँग डेढ करोड रुपैयाँ लिएको बताइन्छ ।
चुनावको अघिल्लो रात लामा किरण गजुरेलसहितलाई लिएर हेटौंडा पुगेका थिए । गाडी र होटल खर्चका लागि भनेर मात्र ५२ लाख रुपैयाँ उनले छुट्याएका थिए ।
अहिले प्रदेश मन्त्री बनाउँदा एकलौटी गरेको भन्दै कांग्रेसमा लामाविरुद्ध अर्को सशक्त मोर्चा खडा भएको छ । कांग्रेसले साढे दुई वर्षपछि मुख्यमन्त्री पाउने आन्तरिक सहमति छ ।
त्यसैले अहिले मन्त्रीसमेत रहेका लामालाई कांग्रेस बागमती प्रदेश दलको नेताबाट विस्थापन गर्न अभियान नै बढेको कांग्रेस नेताहरू बताउँछन् । अबको एक वर्षभित्र लामाविरुद्ध अविश्वासको प्रस्ताव आउने स्रोतले बतायो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।