काठमाडौं - सरकारले आर्थिक वर्ष २०८०–०८१ को नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गर्ने भएको छ ।
आज बस्ने संघीय संसदको दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा सरकारले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले गरेको सम्बोधनको प्रति टेबुल गर्ने संघीय संसद् सचिवालयले जनाएको छ ।
त्यसपछि राष्ट्रपतिबाट नेपालको संविधानको धारा ९५ बमोजिम संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनका लागि प्रतिनिधिसभाको बैठकले राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्ने कार्यसूची रहेको छ । सभामुख देवराज घिमिरेले बिहीबारको संसद् बैठकमा शुक्रबार राष्ट्रपतिले सम्बोधन गर्ने भन्दै सांसदहरूलाई ड्रेस कोडअनुसार उपस्थित हुन आग्रह गरेका थिए ।
सरकारको नीति तथा कार्यक्रमलाई राष्ट्रपतिले सम्बोधन गर्ने भएकाले संसद् भवनसम्म लैजान घोडाको रिसल्लासहित लैजाने गरिँदै आएको छ ।
यसअघिका राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रममा जाँदा तडकभडक देखाएको भन्दै जनस्तरमा आलोचना हुँदै आएको थियो ।
तर यसपटक राष्ट्रपति पौडेल सामान्य ढंगले संसद् जाने भएका छन् । राष्ट्रपति निर्वाचित भएपछि पौडेलले पहिलोपटक संसदमा सम्बोधन गर्न लागेका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।