काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तत्कालीन नेकपा माओवादीसम्वद्ध अयोग्य लडाकुलाई रकम बाँडिए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।
संयुक्त राष्ट्रसंघले प्रमाणीकरण गर्ने क्रममा अयोग्य ठहरिएकाहरुलाई प्रतिव्यक्ति २–२ लाख रुपैयाँका दरले रकम बाँड्ने निर्णय सरकारले बिहीबार गरेको थियो।
सरकारको उक्त निर्णयलाई लिएर एमालेले शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा आलोना गरेको छ।
एमालेका प्रमुख सचेतक सचेतक पदम गिरिले अहिले देशको अर्थतन्त्र गम्भीर संकटमा परेको स्मरण गराउँदै सरकारले कार्यविधि बनाएर पैसा बाँड्ने गरी गरेको निर्णय फिर्ता लिन माग गरेका हुन्।
‘सरकारले एक अर्ब ४० करोड रुपैयाँ शान्ति प्रक्रियाको नाममा चालु आर्थिक वर्षमै दिने गरी छुट्टाएको छ,’ उनले भने, ‘सत्य निरुपण तथा मेलमिलाप आयोगको काम १६ वर्षदेखि अलपत्र छ। तर सरकारलाई त्यसतर्फ चासो छैन। देशको ढुकुटीको पैसा लडाकुका नाममा कार्यकर्ताहरुलाई बाँड्ने कुरा गलत छ।’
देशमा बढेको आर्थिक संकटले गरिब र गरिखाने वर्ग मर्ने अवस्थामा पुगेको उनले बताएका छन्। उनले प्रदेश र स्थानीय तहका कर्मचारी तलव खान नसक्ने अवस्थामा पुगेका पनि बताए।
उनले अनमिनले प्रमाणीकरण गरेका लडाकुहरु पछि पुन प्रमाणीकरण हुँदा २४५१ जना को थिए भन्ने एकिन गर्न नसकिए पनि बताए।
गिरीले त्यस्तो कुरा एमालेलाई कुनै पनि हालतमा स्वीकार्य नहुने बताए। ‘यो निर्णय तत्काल खारेज होस भन्ने कुरा हामीले माग गरिरहेका छौँ,’ उनले भने, ‘यो कुरालाई सुन्ने काम भएन भने, यसलाई नजरअन्दाज गरेमा यसविरुद्ध जस्तोसुकै कदम उठाउन पनि हामी तयार छौँ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।