काठमाडौं - माओवादी केन्द्रले अहिले बागमती र कर्णाली प्रदेशमा मुख्यमन्त्री पाएको छ । जबकि दुवै प्रदेशमा माओवादी तेस्रो र दोस्रो ठूलो दल हो ।
बागमती र कर्णाली दुवैमा नेपाली कांग्रेस ठूलो दल हो । दुई दुईवटा प्रदेशमा सरकारको नेतृत्व गरिरहेको माओवादीले गण्डकी र लुम्बिनी प्रदेशमा पनि मुख्यमन्त्री दाबी गरेपछि कांग्रेस नेताहरू फायर भएका छन् ।
गण्डकी प्रदेशमा कांग्रेस २७ सांसदसहित ठूलो दल हो । लुम्बिनीमा पनि कांग्रेसको २७ नै सांसद छन् । लुम्बिनीमा एमाले २९ सांसदसहित ठूलो दल हो ।
तर लुम्बिनी र गण्डकी दुवै प्रदेशमा तेस्रो ठूलो दल रहेको माओवादीले सरकारको नेतृत्व गरेपछि कांग्रेस अहिले बेकारमा गठबन्धन गरिएछ भन्ने निष्कर्षमा पुगेको छ ।
२०८४ को आमनिर्वाचनमा पार्टी सोत्तर हुने अवस्था देखेपछि माओवादी नेताहरूले ‘अन्तिम भोज’ को रूपमा यो मौका सदुपयोग गर्ने ठहरमा पुगेका छन् ।
जसकारण प्रदेश प्रमुखले दिएको तीन दिनको समयसम्म लुम्बिनी र गण्डकी प्रदेशमा कांग्रेसले मुख्यमन्त्रीमा दाबी गर्न सकिरहेको छैन ।
केन्द्रमा भएको सहमतिअनुसार गण्डकी र लुम्बिनीमा आधा आधा कार्यकाल कांग्रेस र माओवादीले सरकारको नेतृत्व लिने भनिएको थियो ।
जसअनुसार लुम्बिनीमा डिल्ली चौधरी र गण्डकीमा सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बन्नुपर्नेमा माओवादीले बखेडा झिक्दा प्रदेश प्रमुखले दिएको समय घर्र्किंदै गएको छ ।
गण्डकीमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नयाँ सरकार गठनका लागि आहृवान गरेपछि गण्डकीमा कांग्रेसले आज मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेको छ । प्रदेश प्रमुख गुरुङले आज अपराह्न ४ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आहृवान गरेका छन् ।
कांग्रेसले संसदीय दलका नेता सुरेन्द्र पाण्डेलाई मुख्यमन्त्रीमा पठाउने तयारी छ । ६० सदस्यीय प्रदेशसभामा कांग्रेसको २७, नेकपा एमालेको २२, माओवादी केन्द्रको सभामुखसहित आठ, राष्ट्रिय प्रजातन्त्र पार्टीको दुई र एकीकृत समाजवादी प्रवेश गरेका एक स्वतन्त्र सांसद छन् ।
लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनको आह्वान गरेका छन् । प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम आज ४ बजेभित्र दुई वा सोभन्दा बढी दलको समर्थनमा बहुमतको सरकार गठनका लागि दाबी पेस गर्न दलहरूलाई आह्वान गरेका हुन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेपछि नयाँ सरकार गठनको आह्वान भएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।