काठमाडौं- माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भएको आज ९५ दिन पुगेको छ । यसबीचमा उनले दुईवटा गठबन्धन परिवर्तन गरिसकेका छन् । एमालेसँगको गठबन्धनका बेला पनि प्रचण्डले सरकारलाई पूर्णता दिन सकेका थिएनन् । अहिले बनेको आठदलीय गठबन्धनमा पनि उनले मन्त्रिपरिषद्लाई विस्तार गर्न सकेका छैनन् ।
मंगलबारदेखि गठबन्धनको बैठक सुरु भएको छ । बुधबार बिहान पनि बैठक बस्यो । तर ठोस निर्णय आउन सकेन । दिउँसो ३ बजेलाई बस्ने गरी बैठक सकिएको छ । प्रधानमन्त्री प्रचण्ड आजै केही मन्त्रीलाई नियुक्त गरी शपथ खुवाउने मनस्थितिमा रहेको स्रोतले बतायो ।
प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई यस्तो प्रस्ताव गरिसकेको बुझिएको छ । त्यसैले पार्टीका तर्फबाट नेतृत्व गर्ने मन्त्रीको मात्र आजै नियुक्ति हुनसक्ने प्रधानमन्त्रीको निजी सचिवालय स्रोतले बतायो । दिउँसो गठबन्धनको बैठक बसेर विभिन्न दलका चारदेखि पाँचजना मन्त्री नियुक्ति गर्ने गरी गृहकार्य अघि बढाइएको छ । गठबन्धन दलमा मन्त्रीका आकांक्षी बढी देखिएपछि प्रचण्ड दुई चरणमा मन्त्रिपरिषद् विस्तारको गृहकार्यमा जुटेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले आज नेपाली कांग्रेसबाट सरकारमा नेतृत्व गर्ने नेतालाई उप्रधानसहित अर्थमन्त्री बनाउने भएका छन् । कांग्रेसमा उपसभापति पूर्णबहादुर खड्का र प्रवक्ता डा.प्रकाशशरण महतमध्ये आज एकजना नियुक्त हुनेछन् । एकीकृत समाजवादीबाट डा.बेदुराम भुसालले पार्टीको नेतृत्व गर्नेछन् । उनी भौतिक पूर्वाधार मन्त्री बन्ने बुझिएको छ । जसपाबाट कसले नेतृत्व गर्ने भन्ने टुंगिएको छैन । लोसपाबाट शरत्सिंह भण्डारी मन्त्री हुनेछन् । उनले ऊर्जा मन्त्रालय पाउने बुझिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।