काठमाडौं- गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपतिका लागि आज मतदान हुँदैछ । उपराष्ट्रपति नन्दबहादुर पुन सात वर्षे कार्यकाल पूरा गरेर आज घर फर्र्किदैछन् । उनी बिहीबार नै आफ्नो निजी निवासमा सरिसकेका छन् । उपराष्ट्रपतिका लागि तीनजना मैदानमा छन् । कसले बाजी मार्ला भन्ने अहिलेसम्म निश्चित छैन ।
एमालेकी अष्टलक्ष्मी शाक्य, जसपाका रामसहायप्रसाद यादव र जनमत पार्टीकी ममता झा मैदानमा छन् । एमाले उम्मेदवार शाक्यको पक्षमा अन्य दल खुलेका छैनन् । यादवको पक्षमा नेपाली कांग्रेस खुलेको छ । अन्य दलले निर्णय गरेका छैनन् । यदि माओवादी र एकीकृत समाजवादी मात्र खुले पनि यादवले चुनाव जित्ने छन् । राप्रपाले चुनाव बहिष्कार गरेको छ ।
१९ सिट भएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी उपराष्ट्रपतिबारे निर्णय लिन डराएको छ । सो पार्टीले उपराष्ट्रपति निर्वाचनबारे छलफल गर्न शुक्रबार पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बोलाएको थियो । उपराष्ट्रपति निर्वाचनमा कसलाई मतदान गर्ने भन्ने विषयमा निर्णय लिन बिहान साढे ११ बजे पार्टी कार्यालय बसुन्धरामा बैठक बस्ने तयारी गरिए पनि निर्वाचन आचारसंहितालाई मध्यनजर गर्दै रास्वपाले बैठक स्थगित गरेको छ ।
आज १० बजेदेखि ३ बजेसम्म उपराष्ट्रपति चयनका लागि मतदान हुँदैछ । रास्वपाले राष्ट्रपतिमा सत्ता गठबन्धनको उम्मेदवारलाई सहयोग गरेकोले उपराष्ट्रपतिमा पनि गठबन्धनकै उम्मेदवारलाई सघाउन सकारात्मक रहँदै आएको थियो । तर, निर्णय गरिसकेको छैन ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले जसपाका यादवलाई सघाउने निर्णय गरेको थियो । तर कांग्रेसको सो निर्णयविरुद्ध एमालेले निर्वाचन आयोगमा उजुरी हाल्यो । आयोगले कांग्रेसलाई स्पष्टीकरण सोधेपछि रास्वपा डराएर बैठक नै स्थगित गरेको हो । अब रास्वपाका सांसदले स्वतन्त्र ढंगले मतदानमा भाग लिने छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।