काठमाडौं– उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ। शुक्रबार बिहान १० बजे नयाँ बानेश्वर संसद् भवनमा मतदान सुरु भएको हो।
अपराह्न ३ बजेसम्म जारी हुने मतदानमा सङ्घीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि बेग्ला–बेग्लै मतदान केन्द्र तय गरिएको छ।उपराष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्का सदस्यले रातो मसी र प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि हरियो मसीले मतपत्र छपाइ गरिएको छ।
मतदाताले मतपत्रमा उम्मेदवारको तस्बिर र नाम अङ्कित रहेको कोठामा स्वस्तिक छाप लगाई मतसङ्केत गर्नुपर्नेछ। सङ्घीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसा सदस्यको मतभार ४८ कायम रहेको छ। निर्वाचनमा सङ्घीय संसद्का ३३२ (दुई जना निलम्बनमा) र प्रदेशसभाका ५५० सांसद मतदाता रहेका छन्। मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु हुने सहायक निर्वाचन अधिकृत शर्माले जानकारी दिइन्।
राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्य उपराष्ट्रपतिबाट सम्पादन गरिने संवैधानिक व्यवस्था छ। उपराष्ट्रपति मर्यादाका हिसाबले दोस्रो माथिल्लो पद हो। उपराष्ट्रपतिको पदावधि पाँच वर्षको हुनेछ। मुलुकमा उपराष्ट्रपतिको यो तेस्रो निर्वाचन हुन लागेको हो।
निर्वाचनमा नेकपा एमालेका अष्टलक्ष्मी शाक्य, जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार छन्। शुक्रबारै साँझसम्ममा मतदानको परिणाम सार्वजनिक हुने निर्वाचन आयोगले जानकारी दिएको छ।
शाक्यलाई आधिकारिक रूपमा एमालेको मात्र समर्थन छ। जसपाका यादवलाई कांग्रेस, माओवादी, जसपा र नेकपा एसको समर्थन छ। लोसपा, जनमत र नागरिक उन्मुक्तिले झालाई समर्थन गर्ने निर्णय गरेका थिए। मतदानका विषयमा छलफल गर्न रास्वपाले बोलाएको बैठक अन्तिम समयमा स्थगित गरेको थियो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।