काठमाडौं- चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुन गइरहेको छ । निर्वाचनमा तीनजना उम्मेदवार प्रतिस्पर्धामा छन् । जसपाकी उम्मेदवार प्रमिलाकुमारी यादवले उम्मेदवारी फिर्ता लिए पनि ढिला गरेकाले उनको उम्मेदवारी कायमै हुने भएको छ । यसकारण तीन महिला र एक पुरुषबीच भिडन्त हुँदैछ ।
चुनावमा एमालेका अष्टलक्ष्मी शाक्य, जसपाका रामसहायप्रसाद यादव र प्रमिलाकुमारी यादव तथा जनमत पार्टीका ममता झा छन् । यसमध्ये रामसहाय र शाक्यबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । आठदलीय गठबन्धनको साझा उम्मेदवार भएकाले रामसहायले जित्ने सम्भावना अत्यधिक छ । संविधानमा उल्लेख भएअनुसार राष्ट्रपति पुरुष भए उपराष्ट्रपति महिला हुनुपर्नेमा आठ दलले पुरुषलाई नै उपराष्ट्रपति बनाउन खोजेको भन्दै एमाले अध्यक्ष केपी ओलीले आपत्ति जनाएका छन् । मंगलबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उनले आठदलीय गठबन्धनलाई १० टाउके रावण भएको आरोप लगाए ।
उनले १० दलीय गठबन्धनका १० टाउका एक ठाउँ भएपछि भयंकर विध्वंश मच्चिने दाबी पनि गरे। सत्तागठबन्धनप्रति इंगित गर्दै उनले अहिलेको रावणले फेरि महिलाका हक अधिकार हरण गर्न लागेको आरोप लगाए। ओलीले स्थानीय तहको निर्वाचनमा महिलाका हक अधिकारहरु चलाखीसाथ, कपटपूर्ण ढंगले हरण गरिएको दाबी गर्दै राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा पुरुष र महिला मिलाउनु अनिवार्य हुनैपर्ने संवैधानिक व्यवस्था भए पनि वर्तमान गठबन्धनले त्यसलाई बेवास्ता गरेको बताएका थिए ।
तर तिनै ओली हुन् जसले अष्टलक्ष्मी शाक्यलाई पहिलो मुख्यमन्त्री बनेर इतिहास लेखाउन लाग्दा अवरोध गरेका थिए । उनकै निर्देशनमा डोरमणि पौडेललाई एमाले बागमती प्रदेश संसदीय दलको नेता निर्वाचित गराएका थिए । पछि पौडेल नै मुख्यमन्त्री बने । शाक्यलाई साइड लगाइयो । त्यति मात्र होइन, ओलीले पार्टीकी महिला उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा गर्न लगाएर अग्निप्रसाद सापकोटालाई सभामुख निर्वाचित गरेका थिए । नेकपाकालमा ओलीले महिला नेतृको हुर्मत नै लिएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।