काठमाडौं - आगामी फागुन २५ गते राष्ट्रपति निर्वाचन हुँदैछ । निर्वाचनका क्रममा यतिखेर दुई उम्मेदवार कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङ मतदातासँग भोट मागिरहेका छन् ।
पौडेल तनहुँ २ र नेम्वाङ इलाम २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । दुईमध्ये जसले जिते पनि एकजनाको सांसद पद रिक्त हुनेछ । आठदलीय गठबन्धनमा रहेकाले पौडेल राष्ट्रपतिमा निर्वाचित हुने अत्यधिक सम्भावना छ ।
तर नेम्वाङ भने पौडेलभन्दा १० हजारभन्दा बढी मतभारले पछाडि छन् । तैपनि उनी अहिले आफूले चुनाव जित्ने भनेर सांसदहरूको घरदैलो चहारिरहेका छन् । आफूमात्र राष्ट्रवादी र देशभक्ति भन्दै उनले सांसदहरूसँग भोट मागिरहेका छन् ।
जबकि जनआन्दोलनको माग नभए पनि क्रिस्चियानिटी मेसिनरीसँग मिलेर नेपाललाई धर्मनिरपेक्ष बनाउन उनले संविधानसभाबाट घोषणा गर्न लगाएको धेरैको आरोप छ ।
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले समेत धर्मनिरपेक्ष राज्य बनाउने बुँदा कसरी पर्यो भन्ने विषयमा आफू अनभिज्ञ रहेको बताएका थिए । उनले यसमा नेम्वाङलगायतको भूमिका रहेको अभिव्यक्ति दिएका थिए ।
नेम्वाङ विवादास्पद व्यक्ति हुन् । मंसिर ४ गते सम्पन्न निर्वाचनमा उनले धाँधली गरेर जितेको भन्दै उनीविरु्रद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन नै ।
इलाम २ मा कांग्रेसबाट उम्मेदवार रहेका डम्बर खड्काले पुनः मतगणना गर्न माग गर्दै सर्वोच्च अदालतमा मंसिर २१ गते मुद्दा दर्ता गराएका हुन्।
खड्काले एमाले उम्मेदवार नेम्वाङले धाँधली गरेर निर्वाचन जितेको दाबी गरेका छन्। सर्वोच्चले संवैधानिक इजलासमा पछि पेसी तोकिने गरी उजुरी दर्ता भएको जानकारी दिएको छ।
उजुरी–पत्रमा मतपत्र गणना नगरिएको, हस्ताक्षर नभएका मतपत्र छलफल नगरी रद्द गरिएको, कतिपय स्थानमा कांग्रेसका प्रतिनिधिबिना नै मतगणना गरी धाँधली गरेर निर्वाचन जितेको आरोप लगाइएको छ। इलाम २ मा ११४ मत अन्तरले नेम्वाङ विजयी भएका छन्। निर्वाचन आयोगका अनुसार नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार ९०६ मत पाएका छन्।
मतगणनाका क्रममा आफ्नो पक्षका मतगणकलाई कांग्रेसले पाएको मत लुकाउन लगाएर नेम्वाङलाई परेको मात्र मत देखाउने गरेको र त्यस्ता मतपत्र ४५८ वटा रहेको खडका बताउँछन् । ‘धाँधली गरेर चुनाव जितेको व्यक्ति राष्ट्रपतिको उम्मेदवार हुनै सक्दैन ।
जोविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ त्यो व्यक्ति नै अहिले प्रतिस्पर्धी उम्मेदवारलाई नैतिकताको पाठ सिकाइरहेछ । यो दुर्भाग्यपूर्ण अवस्था हो,’ कांग्रेस नेता खड्काले भने ।
तर राष्ट्रपतिमा उठ्नकै लागि नेम्वाङले फागुन ३ गते सर्वोच्च अदालतको संवैधानिक इजलासले इलाम २ मा पुनः मतगणना गर्न अस्वीकार गरेको सूचना आफू निकट पत्रकारलाई बाँडेका थिए ।
कांग्रेस–माओवादीसहितको आठ दलीय गठबन्धनका साझा उम्मेदवार पौडेलले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका सांसदहरूलाई पत्र पठाएर मतदान गर्न आह्वान गरेका छन् ।
त्यस्तै, उनले दलका शीर्ष नेताहरूसँगको भेटघाटलाई समेत निरन्तरता दिँदै आएका छन् । पौडेल यसअघि सत्तामा हुँदा कहीँ कतै चुकेका छैनन् । तर केपी ओलीले दुई दुईपटक संसद् विघटन गर्दा पनि नेम्वाङले त्यसको बचाउ गर्दै आएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।