काठमाडौं - आफूलाई मात्र केन्द्रमा राखेर सोच्ने मनोगतवादी सोच र बुर्जुवा रोगका कारण एमाले अध्यक्ष केपी ओली फेरि एकपटक पछारिएका छन् ।
कांग्रेसका केही नेताको हठ र स्वार्थमा राप्रपा र रास्वपालाई सँगै राखेर च्याँखे दाउ थापेका ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाए । आफूले सभामुख, उपसभामुख, विभिन्न प्रदेशमा मुख्यमन्त्री, सभामुख र उपसभामुख हात पारे ।
धेरै राजनीतिक नियुक्ति लिन सफल भए । राष्ट्रपति निर्वाचनमा माओवादीले साथ नदिएपछि ओलीले नेपाली कांग्रेससँग प्रचण्डलाई साइजमा ल्याउन सँगै मिलेर जान सकिने अस्त्र मिल्कायो । ओलीका विश्वास पात्र प्रदीप ज्ञवालीले कांग्रेसले चाहेमा एमाले मिलेर जान तयार रहेको सन्देश सुनाए ।
तर त्यसबेलासम्म कांग्रेस र माओवादीबीच गठबन्धन भइसकेको थियो । प्रधानमन्त्री प्रचण्डको अस्थिर चरित्रका कारण कांग्रेस र एमाले मिलेर जानुको विकल्प नभएको भन्दै प्रचारसमेत सुरु गरियो । तर कांग्रेस र एमालेबीच मिलेर सरकार बनाउने पुस १० गतेको त्यो घटना ओलीकै कारण तुहिएको कसैले बिर्सेका छैनन् ।
निर्वाचनको परिणामपछि सरकार बनाउने रस्साकस्सीमा दलहरू जुटेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले सात दिनेको समयसीमा तोकेर दलहरूलाई बहुमतको प्रधानमन्त्री दाबी गर्न आह्वान गरेकी थिइन् । ओलीकै सल्लाहमा शीतल निवासले यति छिटो सरकार गठनको आह्वान गरेको नबुझिएको होइन ।
दलहरूबीच द्विपक्षीय, बहुपक्षीय वार्ता जारी थियो । त्यहीबीचमा कांग्रेस नेता विमलेन्द्र निधि एमाले अध्यक्ष केपी ओली निवास बालकोट पुगे । ओलीले कांग्रेससँग मिलेर जान आफू तयार रहेको भन्दै पुस १० गते दिउँसो ३ बजेसम्म कुर्न कांग्रेस नेताहरूलाई सन्देश पठाए । कांग्रेस एमालेबीच दुवैले राष्ट्रपति र प्रधानमन्त्री लिएर पाँच वर्ष स्थिर सरकार चलाउने मोटामोटी सहमति जुटेको थियो ।
प्रचण्डले पहिलो कार्यकाल प्रधानमन्त्रीमा दाबी नछाडेपछि कांग्रेस र एमालेबीच सहकार्य हुने सम्भावना बढेको थियो । तर, ऐनमौकामा ओलीले आफ्नो असली चरित्र देखाइहाले । कांग्रेसले पहिलो चरणमा आफूलाई प्रधानमन्त्री नदिएको भनेर रिसाएका प्रचण्डलाई ओलीले फ्याट्ट समर्थन गरिदिए ।
कांग्रेस नेताहरूलाई पुस १० गते दिउँसो ३ बजेसम्म प्रचण्डले प्रधानमन्त्री मागे पनि दाबी नछाड्नु, हामी बालुवाटार आउँछौं भनेर सन्देश पठाएका ओलीले प्रचण्डलाई प्रधानमन्त्री बनाउन एक सय ६७ सांसदको हस्ताक्षर बोकेर शीतल निवास पुगेपछि कांग्रेस नेताहरू छाँगाबाट खसेझैं भएका थिए ।
त्यहीबेलादेखि हो कांग्रेसलाई ओलीसँग विश्वास र भरोसा टुटेको । च्याँखे दाउ थापेर पाँचदलीय गठबन्धन ओलीले भत्काएपछि कांग्रेस बदलाको दाउमा थियो । उसले सिधै प्रचण्डलाई विश्वासको मत दियो । त्यहीकारण अहिले राष्ट्रपतिमा माओवादीले कांग्रेसलाई समर्थन गरेको हो । अब एमालेलाई कांग्रेसको रिसमा खाँबो चिथोर्नुको कुनै काम छैन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।