काठमाडौं– नेपाली कांग्रेसबाट राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले नेकपा एमालेले पनि आफूलाई साथ दिने बताएका छन्।
शनिबार संघीय संसद भवनस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा उम्मेदवारी दिएपछि उनले राष्ट्रपति पदलाई साझा बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि योगदान गर्ने आफूले अपेक्षा गरेको बताए ।
‘एमाले अध्यक्ष पनि म सँगै जेल बस्नुभएको हो, पुरानो साथी हो, यो पदलाई राष्ट्रको साझा पद बनाउन उहाँले योगदान गर्नुहोला भन्ने अपेक्षा गरेको छु’ उम्मेदवारी मनोनयन दर्तापछि उनले पत्रकारहरुसँग भने । पौडेलले राष्ट्रपतिको चुनाव हुने दिनसम्म एमालेको पनि साथ पाउने बताएका हुन् ।
राष्ट्रपतिमा निर्वाचित भएमा नेपालको संविधानको अक्षर र भावनाको अक्षरश पालना गर्ने पौडेलले बताए । त्यस्तै गणतन्त्र संस्थागत गर्ने र नेपाली जनताको सार्वभौमसत्तालाई बलियो र सुरक्षित बनाउने पनि उनले बताए ।
२५ फागुनमा हुने राष्ट्रपति पदको निर्वाचनका लागि नेकपा एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।