काठमाडौं - पुस १० गते कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पाँचै वर्ष प्रधानमन्त्री खान अफर गरेको थियो ।
तर प्रचण्डले त्यो अफर धेरै ढिलो भएको भन्दै बालकोट पुगे । त्यहाँ उनले एमाले अध्यक्ष केपी ओली, रास्वपा अध्यक्ष रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सीके राउतसँग आफूलाई प्रधानमन्त्रीमा समर्थन गर्न प्रस्ताव गरे ।
ओलीले तत्काल पाँचदलीय गठबन्धन टुट्ने भएकाले समर्थन गरिदिए । प्रचण्ड प्रधानमन्त्री बने । संसदको तेस्रो दलले प्रधानमन्त्री पाएपछि दोस्रो ठूलो दल एमालेले राष्ट्रपति र सभामुख आफूलाई दिनुपर्ने ओलीको प्रस्ताव थियो । प्रचण्डले हुन्छ भनेर टाउको हल्लाइदिए ।
ओलीले त्यसबेलादेखि राष्ट्रपति आफ्नै पार्टीले पाउने रटान लगाइरहे । तर, पुस २६ गते नेपाली कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि भने ओली खङरंग बने । कांग्रेसले राष्ट्रपति निर्वाचनलाई लक्षित गर्दै प्रचण्डलाई विश्वासको मत दिएको थियो ।
नेपाली कांग्रेसका नेताहरूका अनुसार प्रचण्डले नै राष्ट्रपतिको निर्वाचनमा सहयोग चाहिए आफूलाई समर्थन गर्न माओवादी केन्द्रका नेताहरूमार्फत सभापति शेरबहादुर देउवासमक्ष प्रस्ताव लगिएको थियो । सोही कारण संसदको सबैभन्दा ठूलो दल कांग्रेसले कुनै सोचविचार नगरीकन प्रचण्डलाई विश्वासको मत दिने निर्णय गर्न पुग्यो ।
त्यो सर्वसम्मत । पुस १० आफ्नै हठले सत्ता गुमेकोमा रन्थनिएका कांग्रेस नेताहरू त्यसपछि एकढिक्का भए । माओवादीसँग सम्बन्ध विस्तार गर्न लागे । प्रधानमन्त्री प्रचण्डले पनि ओलीको सास्तीबाट मुक्ति पाएको अनुभव गरे । प्रधानमन्त्री भएको १६ दिनसम्म प्रचण्ड ओलीको कब्जामा थिए ।
तर जब कांग्रेसले विश्वासको मत दियो, तब प्रचण्डले राहतको महसुस भए । स्वतन्त्र भएको अनुभव गरे । केही समयपछि संसदमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले अध्यक्ष ओलीलाई संकेत गर्दै भनेका थिए– ‘प्रधानमन्त्रीलाई पिँजडाको सुगा बनाउने कि स्वतन्त्र हुन दिने त्यो तपाईको हातमा छ ।’
यतिबेला राष्ट्रपतिको निर्वाचनको माहोलमा छ देश । सबैको ध्यान अबको राष्ट्रपति को होला भन्नेमा छ । प्रधानमन्त्री प्रचण्डले जुन दललाई समर्थन गर्छन् त्यही दलको उम्मेदवार राष्ट्रपति बन्ने निश्चित छ । एमालेलाई समर्थन गरे प्रचण्ड पिँजडामा पर्नेछन् ।
किनभने सभामुख, उपसभामुख, राष्ट्रियसभाको अध्यक्ष, राष्ट्रपति र साढे दुई वर्षपछि प्रधानमन्त्री पनि हातबाट फुत्किने भएकाले प्रचण्ड पिँजडाको सुगा बन्नेछन् । यदि कांग्रेसलाई समर्थन गरेमा चार वर्षसम्म ढुक्कले प्रधानमन्त्री चलाउन पाउनेछन् । तेस्रो दलले चार वर्ष सरकारको नेतृत्व गर्न पाउनु सामान्य कुरा होइन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।