काठमाडौं- एमाले अध्यक्ष केपी ओलीको आज जन्मदिन । फागुन ११ गतेदेखि उनी ७२ वर्षमा प्रवेश गरेका छन् । बिहीबार बिहानैदेखि सामाजिक सञ्जालमा ओलीलाई जन्मदिनको शुभकामना र शुभेच्छा दिनेको लहर चलेको छ । एमालेका पदाधिकारीदेखि उनका शुभेच्छुक र समर्थकले पनि शुभकामना दिइरहेका छन् ।
संयोग नै भन्नु पर्छ जन्मदिनकै दिन ओलीलाई उनकै गठबन्धनका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘सरप्राइज गिफ्ट’ दिने भएका छन् । त्यो गिफ्ट भनेको अहिलेको सत्तागठबन्धन भत्काएर पुरानै पाँचदलीय गठबन्धन निर्माण हो । त्यसका लागि पुरानो पाँचदलीय गठबन्धनमा आबद्ध दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र लोसपाबीच छलफल चलिरहेको छ । अब बन्ने नयाँ गठबन्धनमा सिके राउत नेतृत्वको जनमत पार्टी पनि सहभागी हुने बुझिएको छ ।
बुधबार राति प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा पुरानै गठबन्धनलाई व्युँताउने विषयमा छलफल भएको थियो। नेपाली कांग्रेस र माओवादी केन्द्रबीच भएको निर्णायक वार्तामा पुरानै गठबन्धन व्युँताएर नयाँ रणनीतिका साथ अगाडि बढ्ने विषयमा छलफल भएको हो। बैठकमा संविधानको रक्षाका लागि भए पनि पुरानै गठबन्धन आवश्यक रहेको भन्दै प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई कायमै राखेर निर्वाचनअघिको पुरानो गठबन्धन व्युँताउने विषयमा छलफल भएको थियो ।
बैठकमा एमाले अध्यक्ष ओलीको प्रतिगमनका कुरा कोट्याउँदै कांग्रेस नेताहरूले पाँचदलीय गठबन्धनलाई फेरि व्युँताउनुपर्ने धारणा राखेका थिए। राष्ट्रपति नेपाली कांग्रेसलाई नै दिएर अगाडि बढ्ने विषयमा छलफल भएको थियो। कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिमा एकीकृत समाजवादी र जनता समाजवादीको समेत समर्थन रहने दाबी गरेका थिए। आज दिउँसो पुरानो पाँचदलीय गठबन्धनमा आबद्ध दलहरूको बैठक बस्ने तयारी भएको छ । साँझसम्म नयाँ सत्ता समीकरणको सहमति हुने बुझिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।