काठमाडौं - राष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता गर्ने समय दिन दुई दिन बाँकी रहँदा चिनियाँ राजदूत छन् सङको सक्रियता ह्वात्तै बढेको छ ।
विगतमा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्न र नेकपा विभाजन नहुन चिनियाँ राजदूत होउ यान्छीले जस्तै अहिलेका राजदूतले पनि कम्युनिस्ट शक्ति एक गराउन सक्रियता बढाएका हुन् ।
चिनियाँ चासोका बाबजुद तत्कालीन नेकपा टिकिरहन सकेन । स्रोतका अनुसार चीन लामो समयदेखि वाम गठबन्धन बनोस् भनेर खेल्न खोजिरहेको छ । राजदूत छन् सङले माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग दुईपटक भेटवार्ता गरेका छन् ।
उनले एमाले अध्यक्ष केपी ओलीलाई पनि बालकोटमै पुगेर दुईपटक भेटिसकेका छन् । प्रचण्ड र ओलीका गोप्य भेटवार्तामा परराष्ट्र मन्त्रालयका कुनै पनि अधिकारीहरु सामेल गरिएको छैनन् ।
परराष्ट्र मन्त्रालयले विदेशी कूटनीतिक प्रतिनिधिले नेपालका नेताहरूलाई भेट्दा परराष्ट्रका प्रतिनिधि अनिवार्य राख्न सर्कुलर जारी गरेको थियो । तर, अहिले प्रधानमन्त्री प्रचण्ड र ओलीले त्यसलाई धोती लगाइदिएका छन् । खासगरी कम्युनिस्ट पृष्ठभूमिकै व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने भन्दै चिनियाँ राजदूत छन् सङले सक्रियता बढाएको स्रोतले बतायो ।
त्यसका लागि ओलीले चिनियाँ राजदूतमार्फत प्रचण्डमाथि दबाब बढाउँदै लगेका छन् । चिनियाँ राजदूतले पहिले बालकोट पुगेर ओलीसँग मन्त्रणा गर्ने अनि बालुवाटार पुगेर दबाब दिने गरेको बालुवाटार स्रोतले बतायो ।
चिनियाँ राजदूतले गत शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई बालुवाटारमा भेटेका थिए । त्यसअघि उनीहरूबीच माघ २ मा बालुवाटारमै पहिलो भेटवार्ता भएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।