शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

कांग्रेसको ढोक्सा रित्तै होला कि माछा पर्ला ?

कांग्रेसको ढोक्सा रित्तै होला कि माछा पर्ला ?

  • मिडिया डबली
  • मंगलवार, फाल्गुण ९ २०७९

  • 4.2K
    SHARES

  • कांग्रेसको ढोक्सा रित्तै होला कि माछा पर्ला ?

    काठमाडौं - राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदैछ । त्यसका लागि फागुन १३ गते मनोनयन दर्ताको कार्यसूची छ ।

    राष्ट्रपतिमा एकाएक एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नाम अघि सारिएपछि माओवादी केन्द्रका नेताहरू आफैं आश्चर्यमा परेका छन् ।

    एमालेले आफूले राष्ट्रपति नपाउने अवस्थामा केपी ओलीले धेरै खेलोफड्को गर्नसक्नेमा माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ढुक्क नै थिए ।

    प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको टोलीसँग पनि यसबारे छलफल गरेका थिए । त्यही भएर अहिले कांग्रेसले राष्ट्रपतिको उम्मेदवारबारे कुनै छलफल नै गरेको छैन ।

    स्रोतका अनुसार एमाले अध्यक्ष ओलीले धेरै चलखेल गर्नसक्ने भएकाले कांग्रेसले तत्काल पदाधिकारी वा केन्द्रीय समितिको बैठक नबोलाएको हो ।

    प्रधानमन्त्री प्रचण्डले सोमबार पदाधिकारी बैठक राखेर राष्ट्रपतिको उम्मेदवारबारे निर्णय गर्ने अधिकार आफूले लिइसकेका छन् ।

    बैठकले औपचारिक निर्णय गर्दा सबै कुरा खुल्ने र सूचना ओलीकहाँ पुग्ने सुइँको पाएपछि प्रचण्डले फागुन १३ गते बिहान मात्र औपचारिक निर्णय गर्ने बुझिएको छ ।

    नेपाली कांग्रेससँगको गठबन्धनमा चुनाव जितेको तर एमालेसँगको गठबन्धनबाट प्रधानमन्त्री बनेका प्रचण्ड अहिले नैतिक संकटमा छन् । अहिलेको गठबन्धन जोगाउने कि पुरानो गठबन्धन ब्यूँताउने भन्ने उनले निर्णय गर्न सकेका छैनन् । आफूलाई विश्वासको मत दिएकाले कांग्रेसलाई पनि नचढ्यिाउने प्रचण्डको चाहना छ ।

    त्यसमा पनि केपी ओलीको दबाब र अहंकारलाई साइजमा राख्न कांग्रेसलाई प्रचण्डले ब्याक फोर्स राखिरहेका छन् । त्यसैले उनले राष्ट्रपति निर्वाचनसम्म दुवैलाई नचिढ्याइकनै साथसाथै लगिरहेका छन् ।

    प्रचण्डले राष्ट्रपतिमा साथ दिने बचन दिएकैले कांग्रेसले विश्वासको मत दिएको प्रस्ट भइसकेको छ । पुस २६ गते प्रधानमन्त्रीलाई विश्वासको मत दिने बेलामा एमाले अध्यक्ष केपी ओलीले कांग्रेसले केही पाइन्छ कि भनेर ढोक्सा थापेको हो भने रित्तै हुने, माछा नपर्ने अभिव्यक्ति दिएका थिए । राजनीति सरल ढंगले अघि बढ्दैन ।

    यसबीचमा प्रधानमन्त्री प्रचण्डसँग घुर्की लगाउँदै साथ दिइरहेका माधव नेपाल एक्कासि केपी ओलीको कोटाबाट राष्ट्रपतिको उम्मेदवार हुने चर्चा चलेसँगै नयाँ परिस्थितिको विकास भएको छ ।

    अहिले माधव नेपाल राष्ट्रपतिको उम्मेदवार भएमा प्रचण्डलाई पनि नैतिक संकट पर्ने र त्यसले नेपाली कांग्रेसले थापेको ढोक्सा रित्तै पर्ने भन्दै सामाजिक सञ्जाल रंगीन थालेको छ ।

    कांग्रेसले राष्ट्रपतिका लागि थापेको ढोक्सामा माछा पर्ने कि नपर्ने भन्ने प्रधानमन्त्री प्रचण्डकै हातमा छ । प्रचण्डले साथ दिएमा आरामले कांग्रेसले राष्ट्रपति जित्छ । नदिएमा कांग्रेसले थापेको ढोक्सा रित्तै हुन्छ ।

    बालुवाटार निकट स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति निर्वाचनमा एउटा गठबन्धन र सरकार सञ्चालनमा अर्को गठबन्धन गरेर हिँड्ने तयारीमा छन् । यसरी हिँड्दा एमाले बिच्केमा त्यसको परिपूरणका लागि ब्याक फोर्स पनि सँगै राखेको नेताहरू बताउँछन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend