काठमाडौं- एमालेमा अहिले अराजकता मौलाउन थालेको छ । अध्यक्ष केपी ओलीले निरंकुश शैलीमा पार्टी सञ्चालन गरेपछि नेताहरू आ–आफ्नै ढंगले अघि बढेका छन् । जहाँ पनि ओलीबाहेक अन्य नेता कार्यकर्ताको चर्चा परिचर्चा हुन छाडेपछि एमालेमा अहिले निष्क्रिय हुनेको संख्या ह्वात्तै बढेको छ । खासगरी ओलीको विरोध र विपक्षमा कुरा राख्न नपाइने भएपछि सो पार्टीका धेरै नेता कार्यकर्ता चाँडै लाखापाखा लाग्न सक्ने देखिएको छ ।
एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाई अहिले पूर्वराजा ज्ञानेन्द्र शाह बोकेर हिँडेका छन् । ओलीका विश्वास पात्र मानिने प्रसाईले पूर्वराजाकै हातबाट नागरिक बचाउ अभियान सुरु गरेका छन् । त्यो पनि झापाको मेची नदी किनारबाट । पूर्वराजाको यो सक्रियतालाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिगमनकारी शक्ति उठ्न खोजेको रूपमा व्याख्या गरेका छन् । आफ्नो पार्टीका केन्द्रीय सदस्यले पूर्वराजा बोकेर हिँड्दा पनि केपी ओलीले अहिलेसम्म कुनै टिप्पणी गरेका छैनन् ।
यस्तै, पूर्वअर्थमन्त्री एवं एमाले नेता भरतमोहन अधिकारीकी छोरी लिमा अधिकारी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य बनेकी छन् । सोमबार बसेको रास्वपा बैठकले अधिकारीलाई पार्टी केन्द्रीय सदस्य मनोनीत गरेको थियो। यसअघि एकीकृत समाजवादीमा रहेकी लीमालाई गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा एकीकृत समाजवादीले खस–आर्य महिला कोटाबाट प्रतिनिधिसभामा समानुपातिक उम्मेदवार बनाएको थियो । चुनावअघिसम्म उनी एमालेमा आबद्ध थिइन् ।
एमालेकै उपमहासचिव भइसकेका घनश्याम भुसाल अहिले एकीकृत समाजवादी प्रवेश गरेका छन् । उनी एमालेमा वैचारिक नेता मानिन्थे । यस्तै, एमालेका नेता भीम रावल अहिले निष्क्रिय छन् । ओलीको विचार र कार्यशैलीको विपक्षमा रहेपछि उनको भूमिका शून्य बनाइएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।