काठमाडौं– नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले राष्ट्रपति चुनावमा कांग्रेसले ढोक्सा थाप्ने बताएका छन्। उनले राष्ट्रको अविभावक, संविधानको संरक्षण गर्न सक्ने राष्ट्रपति मुलकुलाई आवश्यक हरेको बताउँदै यसका लागि आफ्नो पार्टीले प्रयास गरिरहेको उनको भनाइ छ ।
बुधबार प्रतिनिधिसभाको बैठकमा उनले रबरस्ट्याम्प राष्ट्रपति बनाउने प्रयास भइरहेको उल्लेख गर्दै कांग्रेसले त्यसको प्रतिवाद गर्ने बताए ।
‘यहाँ राष्ट्रपति चाहिएको होइन । रबरस्ट्याम्प राष्ट्रपति चाहिएको छ । आफ्नै घरमा लालमोहर ल्याएर राखिदिने राष्ट्रपति चाहिएको छ । आवश्यकता पर्यो भने सचिव पनि लुकाइदिने राष्ट्रपति चाहिएको छ’, उनले भने, ‘त्यस्तो राष्ट्रपतिको प्रतिवादमा कांग्रेस उत्रिँदै गर्दा कांग्रेसले ढोक्सा थापेको मानिन्छ भने हामी त्यो ढोक्सा राम्रोसँग थाप्न तयार छौं ।’
यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर ढोक्सा थाप्न खोजेको हो भने कांग्रेसको ढोक्सामा माछा नपर्ने टिप्पणी गरेका थिए ।
राष्ट्रपतिकै चुनावलाई लिएर सत्ता समीकरण फेरिन सक्ने कतिपयको आंकलनका सन्दर्भमा पनि पौडेल बोलेका छन् । उनी भन्छन्, ‘हामी स्थिरताको पक्षमा छौं । गठबन्धन भत्कियोस् भन्ने चाहना छैन । तर, सुदूरपश्चिममा गठबन्धनमा भत्कियो । यो कांग्रेसका कारणले भत्किएको हो कि जगैदेखि हल्लिएर भत्किएको हो हामी प्रश्न गर्न चाहन्छौं ।’
पौडेलले आफ्नो पार्टीको लोकतन्त्रमाथि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रश्न गरेको भन्दै प्रतिवाद गरेका छन् ।
आफूले पार्टीको संसदीय दलको नेताको चुनावमा सभापति शेरबहादुर देउवालाई भोट नहालेको भन्दै उनले भने, ‘गएको संसदीय दलको चुनावमा मैले सभापतिलाई भोट हालिन । तर, उहाँले मलाई सुत्रुतापूर्ण व्यवहार गर्नुहुन्न ।’
आफ्नो पार्टीमा रहेको यस्तो लोकतन्त्र एमालेमा नरहेको पौडेलको भनाइ छ । उनले अगाडि भने, ‘म तपार्ई (एमाले अध्यक्ष ओली) लाई सोध्न चाहन्छु । भीम रावल कहाँ हुनुहुन्छ ? घनश्याम भुसाल कहाँ हुनुहुन्छ ?’ यी प्रश्नहरु (एमाले पार्टीमा भएका अभ्यासले) ले लोकतन्त्र विकसित गर्ने प्रयासमा गम्भीर स्थिति सिर्जना गरेको पौडेलको भनाइ छ ।
एमाले अध्यक्ष ओलीले सर्वोच्च अदालतलाई आफ्नो पार्टीको कानुन विभागलाई जसरी ललकार्ने प्रयास गरेको भन्दै पौडेलले आलोचना गरे । ‘संसद विघटनको भोक र सनक नमेटिएको पाइयो । यो संसद पनि असुरक्षित छ भनेर अनुमान गर्ने स्थिति बनेको छ । त्यसकारण हामी यो विषयमा गम्भीर संसदमा उभिन जरुरी छ’ उनले भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।