काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको भन्दै नेपाली कांग्रेस प्रतिपक्षमा बस्नलायक नभएको भन्दै सभापति शेरबहादुर देउवाको आलोचना हुँदै आएको छ ।
कतिसम्म भने प्रचण्डलाई विश्वासको मत नदिने नेमकिपाले आफ्ना सांसद प्रेम सुवाललाई प्रतिनिधिसभामा विपक्षी दलको नेता तोक्न संसद् सचिवालयमा पत्रसमेत पठाएको छ । तर, संसद सचिवालयले अहिलेसम्म यसबारे कुनै निर्णय गरिसकेको छैन ।
कांग्रेस सभापति देउवालाई विपक्षी दलको नेताको मान्यता नदिन माग गर्दै अधिवक्ता विनोद पौडेलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् । उनले केही दिनअघि कांग्रेस सभापति देउवालाई विपक्षी दलको नेताको हैसियत नदिन भन्दै सर्वोच्चमा रिट लिएर पुगेका थिए । तर सर्वोच्च प्रशासनले त्यसलाई दरपिठ गरिदिएको थियो । मंगलबार न्यायाधीश सपना प्रधान मल्लले रिट निवेदन दर्ता गर्न आदेश दिँदै बुधबारका लागि सुनुवाइ हुने समयसमेत तोकेकी छन् ।
बुधबार सर्वोच्च अदालतमा यो मुद्दामा सुनुवाइ भई आदेश वा फैसला आउन सक्ने अनुमान गरिएको छ । न्यायाधीश प्रधान एमालेको कोटामा न्यायाधीश बनेकी हुन् । त्यही भएर उनले कांग्रेसलाई प्रतिपक्षी दलको हैसियत नदिने गरी आदेश दिनसक्ने धेरैले अनुमान गरेका छन् ।
अहिले एमालेलाई सत्ताबाट बाहिर पठाउन कांग्रेस सभापति देउवाले प्रधानमन्त्री प्रचण्डलाई फकाएको भन्दै एमाले नेताहरू आक्रोशित छन् । यही मेसोमा विपक्षी दलको नेता कसलाई दिने भन्ने विवाद जन्मिएको हो ।
संविधानअनुसार नेपाली कांग्रेस नै प्रमुख प्रतिपक्षी दल हो । किनभने सरकार गठन गर्ने बेला कांग्रेसले समर्थन गरेको छैन । सरकारमा पनि सहभागी भएको छैन । विश्वासको मत दिँदैमा सत्ता पक्ष भन्ने कहीँकतै उल्लेख समेत गरिएको छैन । संवैधानिक परिषद् आफ्नो कब्जामा पार्न पनि एमाले अध्यक्ष केपी ओलीले कांग्रेसलाई विपक्षी दलको नेताको हैसियत नदिन षड्यन्त्र गरिरहेको कांग्रेस नेताहरूको दाबी छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।