शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

सत्ता हातबाट गुम्ने त्रासमा एमाले

सत्ता हातबाट गुम्ने त्रासमा एमाले

  • मिडिया डबली
  • मंगलवार, माघ २४ २०७९

  • 3.7K
    SHARES

  • सत्ता हातबाट गुम्ने त्रासमा एमाले

    काठमाडौं - एमाले अध्यक्ष केपी ओलीले संवैधानिक परिषदमार्फत आफूलाई घेराबन्दी गर्न थालेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुरानै गठबन्धन ब्यूँत्याउन सक्रिय देखिएका छन् ।

    त्यसका लागि पछिल्लो समय घनीभूत छलफल जारी छ । राष्ट्रिय स्वतन्त्र पार्टीको बहिर्गमनपछि प्रचण्ड नेतृत्वको सरकारले राष्ट्रिय सहमतिका लागि नयाँ आधारको खोजी सुरु गरेको छ ।

    सर्वोच्च अदालतको आदेशबाट पदमुक्त भएका तत्कालीन उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई फेरि त्यही पदमा बहाल गराउनुपर्ने ओलीको निर्देशनलाई प्रचण्डले निरन्तर अस्वीकार गरेका थिए ।

    लामिछानेलाई सरकार छाड्न, तर तत्काल समर्थन फिर्ता नलिने स्थितिको निर्माण गर्ने काममा ओलीकै प्रत्यक्ष निर्देशनमा भएको गुत्थी फेला पारेपछि प्रचण्डले कांग्रेससहित पुरानो गठबन्धनमा रहेका दलहरूसँग छलफल अघि बढाएको स्रोतले बतायो ।

    केही दिनअघि कांग्रेस र माओवादी केन्द्रका नेताहरू नयाँ समीकरण बनाउन छलफलमा जुटेका थिए । कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, रमेश लेखक, मोहनबहादुर बस्नेत तथा माओवादी नेताहरू जनार्दन शर्मा, शक्ति बस्नेतलगायतका नेताहरूले नयाँ समीकरणका लागि ड्राफ्ट तयार पार्न जुटेका थिए ।

    सो छलफलपछि एउटा आधार तय भएको बुझिएको छ । प्रधानमन्त्री प्रचण्डलाई नेपाली कांग्रेस, जसपा, एकीकृत समाजवादीले समेत विश्वासको मत दिएका छन् । प्रधानमन्त्री प्रचण्डले सरकारमा सहभागी हुन चाहेमा जसपा र एकीकृत समाजवादीलाई रिक्त मन्त्रालयमा समेट्ने सन्देश पठाएका छन् ।

    तर, ती दुबै दलले एमालेसँगको सहकार्यको स्थिति प्रष्ट नहुँदासम्म र नेपाली कांग्रेससँग सहमति नगरी अगाडि बढिने राजनीतिक यात्रा अहिलेका निम्ति फलदायी नहुने भन्दै सरकारमा जान अस्वीकार गरेको एक नेताले बताए ।

    एमालेका निम्ति फागुन २५ गते हुने राष्ट्रपति निर्वाचन र चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनमा आफ्नो दलको स्थितिसँग मात्रै सरोकार छैन, अहिले आफूसँगै रहेको राष्ट्रियसभाको अध्यक्ष पद असारपछि पनि आफूसँगै राख्ने कुरासँग गहिरो रुचि छ ।

    त्यस कार्यका लागि एमालेलाई कि कांग्रेसको, कि माओवादी केन्द्रको साथ अनिवार्य छ । तर, विकसित घटनाहरूले ती दुबै सम्भावनालाई पर धकेलिरहेको छ । ओलीले संसदमा सबैभन्दा ठूलो दल बन्नका लागि गरेको कसरतस्वरुप जसपासँगको कुराकानीमा प्रगति हुन सकेको छैन ।

    एकीकृत समाजवादीसँगको संवाद पूर्णतः अवरुद्ध छ । रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीभित्र सरकारमा रहनुपर्छ र छोड्नुपर्छ भन्नेमा मतभेद सुरु भइसकेको छ । त्यहाँभित्र एमालेसँग मिलेर जानुपर्छ भन्नेमा पनि आधा–आधा मत थियो ।

    अहिलेसम्ममा ओलीका कारण सरकार छोड्नुपर्ने स्थिति भएको भन्दै एमालेसँग मिलेर जान नसक्ने मत बलियो बनेको छ । सरकार निर्माणको बेला गत पुस १० गते ओली र प्रचण्डबीच आधा–आधा कार्यकाल प्रधानमन्त्री लिने समझदारी भएको एमाले नेताहरूले दाबी गर्दै आएका छन् ।

    माओवादीले भने कुनै सहमति नभएको भन्दै राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नुपर्ने प्रस्ताव अघि सारेको छ । तत्कालीन पाँचदलीय गठबन्धनसँग सरकार चलाउन आवश्यक मत रहेकाले प्रचण्डको प्रस्तावबाट ओली झस्किएका छन् ।

    त्यसैले ओली प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाको दूरी बढाउन चाहन्छन् । प्रचण्ड–देउवा दूरी बढाउने र राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष पद लिएर एकलौटी गर्ने दाउपेचमा ओली छन् । सोहीकारण ओलीले नचाहे पनि विपक्षी दलहरूसँग प्रचण्डले दूरी घटाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend