काठमाडौं - राष्ट्रपति निर्वाचनअघि नै पुरानो गठबन्धन बनाउने कसरत सुरु भएको छ । वर्तमान गठबन्धनमा रहेका दलहरूबीच न्यूनतम साझा कार्यक्रममै विवाद छताछुल्ल भएपछि देशलाई पुस १० गतेअघिकै अवस्थामा लैजाने कसरत सुरु भएको हो ।
संघीयता र गणतन्त्रविरुद्ध सत्तामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नै खुलेर लागेपछि अहिलेको गठबन्धन भत्कने अवस्थामा पुगेको छ । जसकारण एमाले अध्यक्ष केपी ओली निकै तनावमा परेका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा देखिएको गाईजात्राले पनि यो गठबन्धन टिकाउ नहुने प्रस्ट संकेत देखिसकेको छ । सोही कारण पुस १० गतेअघिको पाँचदलीय गठबन्धनको अवस्थातिर नेपालको राजनीति अघि बढेको विश्लेषण गर्न थालिएको छ ।
एकीकृत समाजवादीका नेता एवं सांसद किसान श्रेष्ठले पनि आगामी राष्ट्रपति निर्वाचनमा राजनीतिक कोर्स करेक्सन हुने बताएका छन् । ‘विगतमा एउटै पार्टीको प्रधानमन्त्री र राष्ट्रपति हुँदा हामीले निकै क्षति बेहोरिसकेका छौं । सातदलीय गठबन्धनको सहमतिअनुसार अढाई वर्षपछि फेरि एउटै पार्टीको प्रधानमन्त्री र राष्ट्रपति हुँदा के अवस्था हुन्छ भन्ने कुरामा हामीले बेलैमा सोच्नुपर्ने अवस्था छ ।
त्यसैले आगामी राष्ट्रपति निर्वाचन राजनीतिक कोर्स करेक्सनको अवसर हो,’ बिहीबार बिहान नेपाली रेडियो नेटवर्कमा अन्तर्वार्ता दिँदै उनले भने । उनले आफ्नो पार्टी यही सरकारमा जानेभन्दा पनि हिजोकै वाम लोकतान्त्रिक गठबन्धनको सरकार बनाउनुपर्ने पक्षमा रहेको स्पष्ट पारे । ‘मंसिर ४ को गठबन्धन टुट्नै हुँदैनथ्यो । स्थानीय तह, संघ र प्रदेशमा मिलेर लडियो । मलाई बारा ४ का जनताले अत्यधिक मतका साथ जिताए ।
त्यसको केही न केही माया त लाग्छ नि । के कारणले टुट्यो भन्नेतिर हामी नजाऊँ । अब फेरि वाम लोकतान्त्रिक गठबन्धन बन्नुपर्छ । हिजोको गल्ती अब सच्चिन्छ कि भन्ने लाग्छ,’ श्रेष्ठले भने । वर्तमान गठबन्धन धेरै समय नटिक्ने पनि उनले औंल्याए ।
‘कसैलाई राजा र हिन्दु राज्य चाहिने, कसैलाई संघीयता नचाहिने, कसैलाई नभई नहुने दलहरुको गठबन्धन छ । संविधानविरुद्ध आफ्नै क्याबिनेटका मन्त्रीले बोल्न थालेपछि प्रधानमन्त्रीले कारबाही गर्छु भनेको पनि एक हप्ता भइसक्यो ।
विचार, सिद्धान्त, मूल्य र मान्यता नमिल्नेसँग गठबन्धन गरेपछि यस्तै हालत त हुन्छ नि,’ उनले भने । नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरू अहिले अनौपचारिक छलफलमा जुटेको स्रोतले बतायो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित माओवादीका अधिकांश नेताले राष्ट्रिय सहमतिकै आधारमा राष्ट्रपति छान्नुपर्ने र राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्नेमा जोड दिँदै आएका छन् ।
कांग्रेसले अहिले राष्ट्रपति आफ्नो दलका उम्मेदवार बनाउन अनौपचारिक छलफलसमेत सुरु गरिसकेको छ । आज बस्ने संसदीय दलको बैठकले यसलाई थप प्रस्ट पार्ने बुझिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।