काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दिनहुँजसो बालकोट जान्छन्। एमालेका अध्यक्ष केपी ओलीलाई भेटेर आफूलाई गृह मन्त्रालयमा पुनःस्थापित गर्न हारगुहार गर्छन्।
त्यहाँबाट फर्किएर बालुवाटार पुग्छन्, जहाँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सोही कुरा दोहोर्याउँछन्। केही दिनदेखि नेपालको राजनीति रविकै वरिपरि केन्द्रित भएको छ । तर, प्रधानमन्त्री प्रचण्ड राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृह मन्त्रालय दिन नसकिने ‘बटमलाइन’मा उभिएका छन् ।
लामिछानेले गृह मन्त्रालयमै फर्किने गरी ‘लबिङ’ जारी राखेपछि प्रधानमन्त्रीले साझेदार दलका प्रमुखलाई आफ्नो ‘बटमलाइन’ सुनाएका हुन् । प्रधानमन्त्री प्रचण्डले सरकारी निवास बालुवाटारमा बुधबार एमाले अध्यक्ष केपी ओली र राप्रपाका अध्यक्ष तथा उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनसँग लामिछानेको मागका विषयमा अलग–अलग छलफल गरेका थिए ।
लामिछानेको नागरिकतासम्बन्धी विवादमा न्यायिक निरुपण भए पनि फैसलाको पूर्ण पाठ नआइसकेको र दोहोरो राहदानी दुरुपयोगमा समेत छानबिन हुन सक्ने सम्भावना रहेको प्रधानमन्त्रीको बुझाइ छ ।
प्रचण्डले बरु मन्त्रालय साटफेर गरेर रास्वपालाई स्वार्थ नबाझिने मन्त्रालय दिन सकिने विकल्पमा सोच्न सकिने जनाएका छन् । ओली र लिङ्देनसँग छलफलपछि प्रचण्डले उपप्रधानमन्त्री तथा माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङसँग छलफलबारे ‘ब्रिफिङ’ सुनाएका थिए ।
एमाले अध्यक्ष ओलीले भने गृह मन्त्रालय भागबन्डामा रास्वपालाई परेका कारण पूर्वसहमति कार्यान्वयन गरेर जाँदा सरकारको स्थायित्वका लागि सहज हुने सुझाव राखेका थिए ।
तर, जवाफमा प्रचण्डले सर्वोच्चको फैसलाको पूर्ण पाठ आइनसक्दै गृह मन्त्रालयमा लामिछाने फर्किँदा सरकारको छविमाथि नै नकारात्मक सन्देश जाने भएकाले पहिले महान्यायाधिवक्ता, संविधान र कानुनविद्सँग छलफल गरेर मात्र निष्कर्षमा पुग्ने धारणा राखेका थिए ।
जनस्तरमा पनि रविको मुद्दाको फर्छ्योट नभएसम्म स्वार्थ बाझिने मन्त्रालय रवि या उनको पार्टीलाई दिन नहुने आवाज प्रबल बन्दै गएको छ । दोहोरो राहदानी कसुरमा अनुसन्धान चलिरहेकाले संविधानतः रवि कुनै सरकारी पदमा बस्न पाउँदैनन् ।
तर, रविकै कारण प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली निर्णायक शक्ति संघर्षमा उभिएका छन् । गृह मन्त्रालय प्रधानमन्त्रीले राख्दा आफ्ना स्वार्थ पूरा नहुने ओलीको बुझाइ छ ।
त्यही भएर पनि उनले रवि वा उनको पार्टीलाई गृह मन्त्रालय दिन दबाब दिइरहेका छन् । तर प्रचण्ड यसपटक सजिलै गल्ने मनस्थितिमा छैनन् । उनी रवि प्रकरणमा ओलीलाई झुकाउने तयारीमा लागेका छन् । त्यही भएर ओली अहिले मध्यमार्गी विकल्पबारे छलफलमा जुटेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।