काठमाडौं- सरकारी निवासलाई लिएर एमाले अध्यक्ष केपी ओलीका दुई भित्रियाबीच टसल सुरु भएको छ । सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच सरकारी निवासकै विषयलाई लिएर गाँड कोराकोर भएको हो ।
नवनिर्वाचित सभामुख देवराज घिमिरेले लैनचौरस्थित सभामुख निवासमा बस्न अस्वीकार गरेका छन् । बालुवाटारस्थित सभामुखको सरकारी निवासमा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना बस्न थालेपछि तत्कालीन सभामुख अग्निप्रसाद सापकोटाले लैनचौरस्थित सरकारी निवासमा कार्यकाल पूरा गरेका थिए । घिमिरेले लैनचौर सर्न नमानेपछि सरकार बालुवाटारमा सरकारी आवासको व्यवस्थापनमा जुटेको छ । सापकोटापछि सभामुख भएका घिमिरेले लैनचौरस्थित सरकारी निवासमा बस्न अस्वीकार गरेका हुन् ।
बालुवाटारभित्र व्यवस्थापन नहुँदासम्म लैनचौर आवास सरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सहरी विकासमन्त्री विक्रम पाण्डेले गरेको अनुरोध नमानेका घिमिरे निर्वाचित भएको दिनदेखि लोकन्थलीस्थित आफन्तको घरमा बसिरहेका छन् । ओली प्रधानमन्त्री भएका बेला सभामुख सापकोटाले लैनचौरमै बिताएका थिए ।
तत्कालीन सभामुख कृष्णबहादुर महराले १४ असोज ०७६ मा पदबाट राजीनामा दिएर बालुवाटारस्थित सभामुख निवास छाडेका थिए । खाली भएलगत्तै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना सभामुख निवासमा सरेका थिए । राष्ट्रिय सभा अध्यक्ष बसेको भवन प्रधानमन्त्री केपी ओलीले नै प्रयोग गरे ।
सुरुमा राष्ट्रिय सभा अध्यक्ष प्रधानमन्त्री कार्यालय परिसरसँगैको मुख्यसचिवको निवासमा बस्दै आएका थिए । महरा पदमुक्त भएपछि तिमिल्सिना सभामुख निवास र तत्कालीन प्रधानमन्त्री ओली राष्ट्रिय सभा अध्यक्ष बसेको भवनमा सरे । अध्यक्ष तिमिल्सिनाले सभामुखको निवास नछाडेपछि सापकोटालाई लैनचौरमा व्यवस्थापन गरिएको थियो । कार्यकाल सकिएसँगै सापकोटाले छाडेपछि लैनचौर सरकारी निवास खाली थियो ।
अहिले नयाँ सभामुख आइसकेका छन् । तर पहिले सभामुख बस्दै आएको निवासमा तिमिल्सिना छन् । त्यो निवासमा कसलाई राख्ने भन्नेमा प्रधानमन्त्री प्रचण्ड मात्र होइन, एमाले अध्यक्ष ओली पनि संकटमा परेका छन् । घिमिरे र तिमिल्सिना दुवै ओलीको विश्वासपात्र नेता हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।