काठमाडौं- एमालेका एकजना मुख्यमन्त्रीको पद धरापमा परेको छ । मुख्यमन्त्री नियुक्त भए पनि एक महिनाभित्र विश्वासको मत लिनुपर्नेमा अहिलेसम्म त्यसको ग्यारेन्टी नभएकाले उनको पद धरापमा परेको हो ।
सुदूरपश्चिम प्रदेशसभामा विश्वासको मत नपुग्ने भएपछि मुख्यमन्त्री राजेन्द्रसिंह रावल अहिले काठमाडौंमा हारगुहारमा लागेका छन् । सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी निर्णायक मानिएको छ । यदि नागरिक उन्मुक्तिले विश्वासको मत दिएन भने रावल स्वतः पदमुक्त हुनेछन् । सुदूरपश्चिममा एमाले, माओवादी र राप्रपाको गर्दा २२ सिट मात्र पुग्छ । नागरिक उन्मुक्तिको सात सिट छ ।
सुदूरपश्चिममा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल छ । कांग्रेसको १९ सिट छ । एकीकृत समाजवादीको चार सिट छ । त्यसैले अहिले रावल रनाहामा परेका छन् । उनलाई कांग्रेसले विश्वासको मत दिने अवस्था छैन । त्यही भएर अहिले कैलालीको टीकापुर हत्याकाण्डमा जेल सजाय भुक्तान गराइरहेका रेशम चौधरीको रिहाइका लागि मुख्यमन्त्री रावलले पहल थालेका छन् ।
सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीको साथ नभए मुख्यमन्त्री रावललाई विश्वासको मत नपुग्ने भएपछि रेशमको रिहाइका लागि प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग अनुनयविनय गरेका छन् । प्रधानमन्त्रीले अवस्था कठिनाइ रहे पनि रिहाइका लागि हर सम्भव प्रयत्न गर्ने आश्वासन दिएका थिए ।
मुख्यमन्त्री रावलसँगै नागरिक उन्मुक्तिका प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरी पनि पुगेका थिए । मुख्यमन्त्रीको शपथ लिए पनि रावलले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । उनको मन्त्रिपरिषद्मा दुई मन्त्री नियुक्त भएका छन्, तर दुवैले जिम्मेवारी पाएका छैनन्। विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा मुख्यमन्त्री रावल रहेको बताइन्छ ।
उनले त्यसअघि एमालेका अध्यक्ष केपी ओलीलाई पनि भेटेर रेशमको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए । नागरिक उन्मुक्तिले रेशम रिहाइको बटमलाइन बनाएको छ । यदि नागरिक उन्मुक्तिका केही सांसद सभामुख निर्वाचनको जस्तै अनुपस्थित भएमा मुख्यमन्त्री रावलको सरकार ढल्ने निश्चित छ । विश्वासको मत पाउन २७ सिट चाहिन्छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।