काठमाडौं– प्रधानमन्त्री बनेको एक महिना नबित्दै पुष्पकमल दाहाल प्रचण्ड निस्कनै नसक्ने गरी एमाले अध्यक्ष केपी ओलीको घेराबन्दीमा परेका छन् । विगतमा प्रधानमन्त्रीले जे चाह्यो, राजनीतिक कोर्ष पनि त्यसैअनुसार चल्थ्यो । तर अहिले प्रचण्ड केही गर्नै नसक्ने गरी निरीह बन्दै गएका छन् ।
प्रधानमन्त्री पदकै लागि एमाले कित्तामा पुगेका प्रचण्डले ढिलोचाँडो आफूले ठूलो गल्ती गरेको महसुस गर्ने नै छन् । सभामुख र उपसभामुख एमाले अध्यक्ष केपी ओलीकै गृहजिल्ला झापाका बनेका छन् । सभामुख देवराज घिमिरे ओलीले भनेको बाहेक एक इन्च दायाँबायाँ गर्दैनन् । त्यसैले आगामी दिनमा प्रतिनिधिसभा सञ्चालन गर्दा सभामुख घिमिरेले प्रचण्डलाई अप्ठेरो बनाउने निश्चित छ । प्रचण्डले चाहेका विधेयक घिमिरेले सहजै ल्याउन देलान् भन्ने कसैले सोचेको छैन ।
उपसभामुख इन्दिरा राना राष्ट्रिय स्वतन्त्र पार्टीकी हुन् । तर रास्वपाका अध्यक्ष रवि लामिछाने आफ्नो पद जोगाउन हरेक दिन ओलीकहाँ धाउनुपर्ने बाध्यताले पनि उपसभामुखले प्रधानमन्त्रीलाई सहयोग गर्ने परिस्थिति छैन । अब सबैको आँखा राष्ट्रपति र उपराष्ट्रपति को बन्ला भन्नेतिर गएको छ । राष्ट्रपति आफ्नै खोल्तीको बनाउन ओलीले गृहकार्य अघि बढाइरहेका छन् । राष्ट्रपति र उपराष्ट्रपति दुवै कसलाई बनाउने भन्ने प्रचण्डको हातमा छैन । राष्ट्रपति त्यसै पनि एमालेको भागमा परेको भनिएको छ । उपराष्ट्रपति पनि माओवादी केन्द्रले नपाउने गरी राजनीतिक कोर्ष अघि बढिरहेको छ ।
सरकारलाई समर्थन गरेको जसपा अध्यक्ष उपेन्द्र यादव जसरी पनि संसद् छिर्ने योजनामा छन् । त्यसका लागि उनले एमाले अध्यक्ष ओली फकाउन लागिसकेका छन् । जसपा उपराष्ट्रपति लिन चाहन्छ । त्यसकै लागि शनिबार यादव ओली निवास बालकोट पुगेका थिए । यदि उपराष्ट्रपति आफ्नो पार्टीलाई बनाएर ओलीले भनेको जे पनि मान्ने यादवले बचन दिएको बुझिएको छ । उपेन्द्र उपराष्ट्रपतिमा आफ्नो पार्टीका महासचिव रामसहायप्रसाद यादवलाई बनाउन चाहन्छन् । बाराका रामसहायप्रसादलाई उपराष्ट्रपति बनाउन पाए त्यहाँ हुने उपनिर्वाचनमा आफू उठ्ने उपेन्द्रको दाउ छ । एमाले र जसपाबीच गठबन्धन भएकाले त्यहाँबाट सहजै चुनाव जित्न सक्ने आंकलन उपेन्द्रको छ । यदि उपराष्ट्रपति ओलीले जसपालाई दिए भने प्रचण्ड अझ कमजोर बन्ने निश्चित छ ।
न्यायालय, प्रतिनिधिसभा, कर्मचारी संगठन सबै एमालेको पकडमा छ । त्यसकारण प्रधानमन्त्री प्रचण्ड सहज ढंगले चल्न सक्ने देखिन्न । त्यसमा पनि माओवादीबाट मन्त्री बनेका बाहेक राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरू प्रचण्डसँग होइन, ओलीसँग निकट छन् । केही काम गर्नुपरेमा पनि पहिले ओलीसँग रायसुझाव लिएर चल्ने गरेको देखिएको छ । त्यसैले प्रचण्डले राष्ट्रपतिमा एमालेलाई नै सघाउँछन् वा कांग्रेसका उम्मेदवारलाई सघाउँछन्, त्यसले मात्र उनको भावी राजनीति अघि बढ्ने छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।