काठमाडौं- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलको पद धरापमा परेको छ । एक साताअघि मुख्यमन्त्री नियुक्ति हुने बेला रावलले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई जलबाट मुक्त गर्ने बताएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत प्रतिबद्धता जनाएका थिए । तर, आज माघ १ गते भइसक्दा पनि चौधरी निकाल्न कुनै प्रयास नगरेको भन्दै सुदूरपश्चिम प्रदेश सभामा सभामुख चयन हुन सकेको छैन ।
सातदलीय सत्ता गठबन्धनको एक घटक नागरिक उन्मुक्ति तटस्थ बस्दा सुदूरपश्चिम प्रदेशमा सभामुख निर्वाचन अनिर्णीत बनेको छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सात सदस्यसहित निर्णायक हैसियतमा रहेको नाउपाले शनिबार भएको दोस्रो पटकको निर्वाचनमा सत्ता गठबन्धनकै सभामुख उम्मेदवारलाई भोट दिएन ।
सुदूरपश्चिममा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका भीमबहादुर भण्डारी र कांग्रेसका मानबहादुर रावल सभामुखका उम्मेदवार छन् । बिहीबार भएको निर्वाचनमा कुनै पनि उम्मेदवारको पक्षमा बहुमत नपुगेपछि शनिबार दोस्रोपटक निर्वाचन भएको थियो ।
बिहीबार नाउपाका लक्ष्मणकिशोर चौधरी र एमालेका चक्र मल्ल अनुपस्थित थिए भने एक मत बदर भएको थियो । यसले गर्दा सत्ता गठबन्धनका उम्मेदवार भण्डारीको पक्षमा २६ मत मात्रै परेको थियो । सभामुख निर्वाचित हुन २७ मत आवश्यक पर्छ ।
शनिबार भएको पुनः मतदानमा सत्ता गठबन्धनले त्यही मत पनि जोगाउन सकेन । गठबन्धनका उम्मेदवार भण्डारीको पक्षमा २२ मत मात्र आएपछि प्रदेशसभाको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य शिवराज भट्टले अस्वीकृत भएको घोषणा गरे ।
सुदूरपश्चिममा माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका सात र राप्रपाका एक गरी सत्तापक्षमा २९ सांसद छन् । कांग्रेसका १९, एकीकृत समाजवादीका चा् र १ स्वतन्त्र सांसद छन् । गठबन्धन दलबीच मुख्यमन्त्री एमाले, सभामुख माओवादी र उपसभामुख नागरिक उन्मुक्तिले लिने सहमति छ । सहमतिअनुसार मुख्यमन्त्री नियुक्त गर्न सघाएको नागरिक उन्मुक्तिले सभामुख निर्वाचनमा बखेडा झिकेको छ । जसकारण त्यहाँको सरकार नै संकटमा परेको छ ।
सातदलीय गठबन्धनमा खटपट भएपछि कांग्रेसले सुदूरपश्चिमको सभामुख निर्वाचनमार्फत सत्ता गठबन्धनलाई प्रभावित गर्ने प्रयास गरेको छ । सुदूरपश्चिमको सभामुख चयनमा नागरिक उन्मुक्ति पार्टीले सत्ता गठबन्धनभित्रै फरक पोजिसन राख्नुमा आफ्ना नेताहरूको रिहाइको मागमात्र होइन, केन्द्रमा हुने सभामुखको निर्वाचनसँग पनि यसलाई जोड्न खोजिएको बुझिएको छ । सातदलीय सत्ता गठबन्धन भए पनि सभामुख, राष्ट्रपतिलगायत पदमा कांग्रेसले भाग खोजिरहेको छ ।
विपक्षी बेन्चमा रहेका कांग्रेस र एकीकृत समाजवादीका सांसदले सभामुख चयन गर्न बहुमत नपुग्नु गठबन्धनको समस्या भएको बताएका छन् । कांग्रेस सांसद मेघराज खड्काले सभामुख निर्वाचनबाट सत्ता गठबन्धन अल्पमतमा परेको बताए । केन्द्रमा दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिएको एकीकृत समाजवादी भने सुदूरपश्चिममा एमाले नेतृत्वको सरकार बनेकाले विपक्षमा बसेको छ । यदि अहिले एमालेका मुख्यमन्त्री रावलले विश्वासको मत प्राप्त गर्न नसके स्वतः कांग्रेस नेतृत्वमा सरकार बन्ने देखिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।