काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । नेकपा एसको पार्टी कार्यालय आलोकनगरमा भेटवार्ता भएको हो ।
पौडेलको निजी सचिवालयका अनुसार २ नेताका बीचमा झन्डै १ घण्टा कुराकानी भएको हो । समसामयिक राजनीतिक विषयमा छलफल भएको निजी सचिवालयको भनाइ छ ।
दुई नेताबीच आगामी सभामुखको निर्वाचन, राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका सन्दर्भमा कुराकानी भएको अनुमान गरिएको छ । कांग्रेसले विश्वासको मत दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सरकारमाथि ओलीको एकाधिकार सक्दो खुकुल्याउन कोशिस गर्दै गरेका सूचना मिलेका छन् । यसअघिको सहमति अनुसार राष्ट्रपति र सभामुख एमालेले पाउने निर्णय भएको थियो । तर अब प्रचण्ड उच्च संवैधानिक पदमा आफू अनुकुल पात्रको खोजीमा सक्रिय भएको स्रोतहरु बताउँछन् ।
आज बिहान कांग्रेस वरिष्ठ नेतापौडेलले नेकपा एकीकृत समाजवादी पार्टीका नेपालसँग गरेको भेटलाई त्यसैको उदाहरणका रुपमा हेरिएको छ । ‘सबैलाई अनुकुल हुने पात्रको खोजी स्वभाविक हो,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘एमालेकै नेता आउनुभयो भने पनि पात्र को हो भन्नेमा प्रधानमन्त्रीज्यूको चासो हुन्छ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।