काठमाडौं - राजनीति निकै निर्दयी हुन्छ । कुनबेला कसलाई कहाँ पुर्याउँछ कसैले सोच्नसमेत सक्दैन । कसैले कल्पनै नगरेको घटना राजनीतिमा भइदिन्छ ।
६ महिनाअघि मात्र पार्टी खोलेर राजनीतिमा होमिएका पूर्वसञ्चारकर्मी रवि लामिछाने अहिले देशको शक्तिशाली गृहमन्त्री छन् । यिनै रवि जो न्युज २४ र ग्यालेक्सीफोरके टेलिभिजनमा कार्यक्रम चलाउँदा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नानाथरी आरोप लगाउँथे ।
‘केपी बा’ र ‘नानीका बा’ प्रचण्डलाई चुनावमा हराउनुपर्ने भन्दै कराउँथे । ‘केपी बा’ र ‘नानीका बा’ बाट नेपालको राजनीतिले पार पाउँदैन भन्थे । पार्टी खोले । आफू सभापति बने । देशभर भाषण गर्न गए ।
जहाँ जहाँ पुगे त्यहाँ त्यहाँ ‘केपी बा’ र ‘नानीका बा’ कै कारण राजनीति प्रदूषित भएको बताए । चर्चा बटुले । वाहवाही कमाए । तर, अहिले तिनै ‘केपी बा’ र ‘नानीका बा’ ले बस भन्दा रवि बस्ने, उठ भन्दा उठ्नुपर्ने अवस्थामा छन् ।
अहिले प्रचण्डलाई प्रधानमन्त्री बनाउन हतारहतार बालकोट पुगेर सही धस्काए । साढे दुई वर्षपछि ‘केपी बा’ लाई प्रधानमन्त्री बनाउन सहमति गरिसकेका छन् । आखीरमा तिनै ‘केपी बा’ र ‘नानीका बा’ लाई बोक्नुपर्ने थियो भने गालीगलौज किन गरेको ? त्यो एउटा फगत राजनीतिक स्टन्ट थियो ? रवि लामिछानेमाथि अहिले जनस्तरमा उठेको प्रश्न हो यो ।
‘केपी बा’ र ‘नानीका बा’ लाई बोक्ने अनि उनीहरूकै सरकारमा बसेर सुशासन गर्छु, भ्रष्टाचार नियन्त्रण गर्छु, तपाईहरु हेर्दै जानोस् भन्ने रविको अभिव्यक्ति भ्रमबाहेक केही होइन ।
ठूल्ठूला गफ हाँक्ने रवि अब संसदमा जहिल्यै रक्षात्मक अवस्थामै बस्नुपर्ने हुन्छ । किनभने सुधार गर्छु भन्ने ठाउँमा उनी पुगेका छन् । सबैभन्दा पहिले बालुवाटार काण्डका एक नाइके अर्थमन्त्री विष्णु पौडेलमाथि उनले कारबाही गरेर देखाउन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।