काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाली राजनीतिका चरम अस्थिर पात्र हुन् । आज एउटा बोल्छन्, भोलि अर्कै । तर पनि आफूलाई राजनीतिको मसिहा, परिवर्तनकारी भनेर दाबी गर्न छाड्दैनन् । यही चरित्रका कारण प्रचण्डले कांग्रेसलाई इतिहासमा पटकपटक धोका दिएका छन् । यिनको राजनीतिक बेइमानीको संख्या त गनेर साध्य नै छैन ।
गठबन्धनमा रहेर निर्वाचनमा गइसकेपछि र कांग्रेस नै सबैभन्दा ठूलो दल भएपछि सरकार बनाउने दाबी पहिले कांग्रेसलाई नै रहन्छ । तर, अनेक तिकडम गरेर प्रचण्ड प्रधानमन्त्री बने । पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई राष्ट्र«पति बनाउने भनेर प्रचण्डले अन्तिममा धोका दिए । यदि प्रचण्डले त्यसरी आश्वासन नदिएको भए कोइरालाले देशभरिका चुनावी सभामा सम्बोधन गर्थे । कांग्रेसको जनमत घट्दैनथ्यो । तर प्रचण्डले अन्तिममा रामराजाप्रसाद सिंहलाई राष्ट्रपतिको उम्मेदवार बनाए ।
२०७४ को निर्वाचनका बेला पनि प्रचण्डले कांग्रेसमाथि ठूलै घात गरेका हुन् । कांग्रेस नेतृत्वको सरकारमा बसेर, स्थानीय तहको निर्वाचनमा कांग्रेससँग मिलेर आफ्नी छोरी रेणु दाहाललाई भरतपुर महानगरपालिकाको प्रमुख जिताएर अन्तिममा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा प्रचण्डले एमालेसँग चुनावी तालमेल गरे । वाम एकता भन्दै चुनावमा गए । र, पछि एमालेसँग पार्टी नै एकता गरे ।
जालझेल र षड्यन्त्रका पर्याय प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच सत्ता सहकार्य लामो समय टिकेन । अन्ततः साढे तीन वर्षमै ओलीसँग उनको सम्बन्ध तोडियो । अन्तिममा रुँदैकराउँदै कांग्रेसको शरणमा आए । कांग्रेससँग मिलेर साढे एक वर्षदेखि सरकारमा छन् । कांग्रेसकै मतले स्थानीय तह र प्रतिनिधिसभामा माओवादीले आफूलाई तेस्रो शक्तिमा स्थापित बन्न सफल भएसँगै फरि एमालेसँग मिलेर सरकार बनाएका छन् ।
प्रचण्डले आज संसदमा विश्वासको मत लिँदैछन् । सोमबार राति नै उनी कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास धुम्बाराही पुगे । कांग्रेस नेताहरु कृष्णप्रसाद सिटौला र पूर्णबहादुर खड्कासमेत उपस्थित बैठकमा प्रचण्डले देउवासँग विश्वासका मत मागे । देउवाले पार्टीमा छलफल गर्ने भनेर प्रचण्डलाई पठाए । अहिले बिहान कांग्रेस संसदीय दलको बैठक बोलाइएको छ । कांग्रेसको परम्परा नै विश्वासको मत दिने दिन बैठक बस्ने र आवश्यक निर्णय गर्ने रहेको छ । तर, कांग्रेसले यसपटक प्रचण्डलाई विश्वासको मत देला कि नदेला? भन्ने चासो सर्वत्र देखिएको छ ।
संसदीय व्यवस्थामा कसैको पनि बहुमत नआउँदा जसले बहुमत जुटाउन सक्छ उसैले सरकार बनाउने हो । नसक्ने प्रतिपक्षमा बस्ने हो । सरकार बनाउन बहुमत जुटाउन नसकेको कांग्रेस अब प्रतिपक्षी नै हो । अहिले देशभरका कांग्रेसजनको आवाज यही छ । त्यही भएर इतर पक्षका नेताहरु प्रतिपक्षविहीन संसद् बनाउन नहुने भन्दै विश्वासको मत नदिने अडानमा देखिन्छन् । प्रतिनिधिसभामा कांग्रेसका ८८ जना सांसद छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।