विराटनगर– प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश १ सरकारको मुख्यमन्त्री दाबी गर्न दलहरूलाई दिएको समयसीमा आज साँझ ५ बजे सकिँदैछ। सत्ता साझेदार दलहरुले आजै प्रदेश प्रमुखसामू मुख्यमन्त्री दाबी गर्ने तयारी गरेका छन्।
प्रदेश १ सरकारको नेतृत्व एमालेबाट हिक्मत कार्कीले गर्ने गठबन्धन दलहरूले बताएका छन्। झापा ५ को क्षेत्र नम्बर १ बाट प्रदेशसभामा निर्वाचित कार्की एमाले स्थायी कमिटी सदस्य हुन्। अध्यक्ष केपी ओली निकट उनी प्रदेशको पहिलो कार्यकालमा आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका थिए।
‘आज हामी एमाले संस्दीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्रीका रुपमा नियुक्त गर्न प्रदेश प्रमुखसामु दाबी पेश गर्दैछौं’, एमाले प्रदेश १ संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले भने, ‘गठबन्धनका सबै दलहरुसहित जानेछौं।’
प्रदेश १ को मुख्यमन्त्री दाबी गरिरहेको नेकपा माओवादी केन्द्र निकट नेताहरुले प्रदेश १ मा एमालेकै नेतृत्वमा सरकार बन्ने बताएका छन्। ‘दाबी हाम्रो पनि धेरै नै छ’, माओवादीका एक नेताले भने ‘अहिले नौ बजे गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेर औपचारिकता दिने काम हुनेछ।’
एमाले र माओवादीको गठबन्धन हुँदा प्रदेशमा आरामदायी बहुमत पुग्ने अवस्था छ। ९३ सदस्सीय सभामा बहुमतका लागि ४७ सिट आवश्यक पर्छ। एमालेसँग ४० र माओवादीसँग १३ सिट छ। केन्द्रीय गठबन्धनमा सामेल रहेको राप्रपाको ६ सिट र जसपाको १ सिट थपिँदा सरकारलाई ६० सांसदको समर्थन पुग्नेछ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।