काठमाडौं - अहिलेको सत्ता गठबन्धन भत्केमा त्यसमा सबैभन्दा ठूलो भूमिका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै हुने निश्चित छ ।
राजनीतिमा इमान पनि हुन्छ भन्ने भुलेका प्रचण्ड आफ्नो स्वार्थका लागि जे पनि गर्न तयार हुन्छन् । अहिलेको निर्वाचनमा तेस्रो पार्टीमा सीमित भए पनि उनले आफूलाई प्रधानमन्त्रीको दाबी गरिरहेका छन् । दुई सय ७५ सिटमा ३२ सिट भएका प्रचण्ड पहिलो चरणमै प्रधानमन्त्री लिन खोजिरहेका छन् ।
पछिल्लो समय एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीको ललिपप देखाएपछि प्रचण्ड कांग्रेससँग दूरी बढाउने खेलमा लागेका छन् । बिहीबार संसदीय दलको नेता चुनिएलगत्तै प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले शुक्रबारभित्रै आफूलाई निर्णय दिन चेतावनी दिएर फर्किएका छन् ।
उनको अल्टिमेटमपछि देउवा गलेका छन् । यदि अहिले प्रचण्डलाई बिच्क्याएमा राष्ट्रपति, उपराष्ट्रपति मात्र गुम्दैन, चाँडै राष्ट्रिय सभामा रिक्त सदस्य पदमा समेत कांग्रेस शून्य अवस्थामा पुग्नेछ । प्रचण्डको चेतावनीपछि देउवाले निकट नेताहरूसँग छलफल थालेका छन् ।
प्रचण्डले गठबन्धनबाट कांग्रेसले सरकार चलाइसकेकाले अब आफूले पालो पाउनुपर्ने बताएका थिए । प्रचण्डको अडानमा देउवाले भने सहमति नजनाएको स्रोतले बताएको छ । देउवाले भने प्रधानमन्त्रीका लागि अढाई वर्ष पर्खन प्रचण्डलाई आग्रह गरेका थिए ।
शक्ति बाँडफाँटका अरु विकल्पमा छलफल गर्न सकिने देउवाको भनाइ छ । तर, कांग्रेसले पहिलो चरणमा आफूलाई प्रधानमन्त्री बन्न सहयोग नगरे विकल्पमा जाने संकेत प्रचण्डले गरेका छन् ।
एमाले अध्यक्ष ओलीले माओवादी गठबन्धन छाडेर आएमा मिलेर जान सकिने विकल्प रहेको बताउँदै आएका छन् । यदि कांग्रेससँग प्रचण्ड मिलेमा पाँच वर्षसम्म सडकमै हुनुपर्ने यथार्थताबाट ओली अनभिज्ञ छैनन् ।
त्यही भएर अहिले ओली एकीकृत समाजवादीसँग पनि लचक बनेको स्रोतले बतायो । तर, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दह्रो साथ नदिए प्रचण्ड कांग्रेस वा एमालेको जुन गठबन्धनमा गए पनि प्रधानमन्त्री बन्न नसक्ने बताइन्छ ।
राष्ट्रपतिले सरकार गठनका लागि बहुमत लिएर आउन दिएको समसमीमा आइतबारसम्म छ । त्यस अगाडि नै प्रचण्डले कांग्रेसमाथि दबाब बढाएका हुन् । तर, प्रचण्डको दबाबपछि कांग्रेस कसरी अगाडि बढ्छ भन्ने प्रस्ट भइसकेको छैन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।