काठमाडौं - यसपटक जनताले कुनै दललाई पनि बहुमत दिएका छैनन् । अघिल्लो निर्वाचनमा एमालेले प्रत्यक्षमा ८० सिट जित्दै समानुपातिक ४१ गरेर एक सय २१ सिट पाएको थियो ।
सरकार बनाउन बाँकी १७ सिट चाहिनेमा माओवादीकै ५१ थियो । त्यसैले झन्डै दुई तिहाइ बहुमतको सरकार एमाले अध्यक्ष केपी ओलीले बनाएका थिए । तर त्यो सरकार ओलीले साढे तीन वर्ष पनि टिकाउन सकेनन् ।
बीचमै सरकार ढलेपछि कांग्रेसले सरकार बनाएको थियो । तर, हालै सम्पन्न निर्वाचनमा कांग्रेसले पनि आशा गरेअनुरुपको सिट सिंख्या जित्न सकेन । उसले प्रत्यक्षमा ५७ र समानुपातिकमा ३२ गरी ८९ सिट पाएको छ । सरकार बनाउन एक सय ३८ चाहिन्छ । त्यसैले अहिले कुनै पनि दल एक्लै सरकार बनाउन सक्षम छैनन् ।
त्यही भएर अघि सरेर सरकार बनाउन ठूला दल पनि हच्किएका हुन् । निर्वाचनको नतिजाअनुसार कांग्रेस ८९ र एमाले ७८ सिट जितेर पहिलो र दोस्रो दल बनेका छन् । तर, ३२ सिट पाएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ताकेर हलो अड्काएपछि अहिले कसको नेतृत्वमा सरकार बन्छ भन्ने टुंगो लाग्न सकेको छैन ।
साना टुक्राटाक्री जोडेर अस्थिर सरकार चलाउने कि बलियो दुई दलको सरकार बनाउने भन्ने बहस सुरु भएको छ । प्रचण्डको अस्थिर चरित्रका कारण बलियो सरकारको विकल्प कांग्रेस र एमाले मिल्दा हुने भन्दै जबर्जस्त बहस सुरु भएको हो ।
अत्यन्तै सहज विकल्पको रुपमा कांग्रेस र एमालेको सरकार बनाउँदा १६७ सिट पुग्छ । यो सरकारलाई कसैले पनि चुनौती दिने अवस्था छैन । सहजै सरकार बनाउन सकिन्छ ।
संघीय सरकार बनाउँदै गर्दा शक्तिशाली पदहरु राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष र राष्ट्रिय सभा उपाध्यक्ष जस्ता पदहरुमा पनि भागबण्डा मिलाउन पनि सजिलो हुने देखिएको छ ।
त्यति मात्र होइन, सातै प्रदेशमा पनि कांग्रेस र एमालेकै मुख्यमन्त्री बन्नेछन् । साना दल मिलाएर सरकार गठन गर्दा भागबन्डाले ठूलो विवाद सिर्जना हुने देखिएकाले पनि अहिलेसम्म शीर्ष नेताहरू प्रायः मौन छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।