काठमाडौं- गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसले तीन सय २९ सिट जितेर पहिलो दल बनेको थियो । हालै सम्पन्न संसदीय निर्वाचनमा कांग्रेस प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पहिलो दल बन्ने निश्चित छ । यद्यपि अझै प्रतिनिधिसभाका चार निर्वाचन क्षेत्र र समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना सकिएको छैन । हालसम्म कांग्रेसले प्रदेशमा एक सय पाँच सिट जितेको छ । जुन अघिल्लो निर्वाचनभन्दा दोब्बरले बढी हो ।
प्रतिनिधिसभातर्फ कांग्रेसले अहिलेसम्म ५४ स्थानमा जितेको छ । एकमा अग्रता लिइरहेको छ । बाजुरा र स्याङ्जा २ मा मतगणना आजबाट सुुरु हुने भएको छ । जसमा कांग्रेसका दुई उम्मेदवार छन् । यदि दुवै क्षेत्रमा कांग्रेस उम्मेदवारले जिते भने कांग्रेसको ५६/५७ सिट पुग्छ ।
समानुपातिकतर्फ कांग्रेसले २६ लाख कटाउने देखिएको छ । समानुपातिकतर्फ कांग्रेसले कम्तीमा ३२ सांसद पाउने देखिएको छ । त्यसो भएमा कांग्रेसको ८७/८८ सांसद पुग्नेछ । कांग्रेसले ८८ सिट ल्यायो र एकीकृत समाजवादीले ३ प्रतिशत थ्रेसहोल्ड कटाएमा सत्तागठबन्धनकै सरकार बन्ने निश्चित छ । त्यही भएर कांग्रेसमा यसपटक नयाँ पुस्ताले सरकारको नेतृत्व लिनुपर्ने आवाज प्रबल रूपमा उठेको छ ।
यदि नयाँ पुस्ताले सरकारको नेतृत्वमा दाबी नछाडेमा कांग्रेसमा संसदीय दलको नेता चयनका लागि निर्वाचन हुनेतिर परिस्थिति अघि बढेको छ । कांग्रेसले ८८ सिट पाएमा संसदीय दलको नेता बन्न ४५ सांसद चाहिन्छ । प्रत्यक्षतर्फ निर्वाचित र समानुपातिक प्रणालीतर्फबाट क्लस्टरको सूचीमा नाम हेर्दा कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा ५१ र संस्थापनइतर समूहतिर ३२ सांसद देखिन्छ ।
कांग्रेस महामन्त्री गगन थापालाई दलको नेता बनाउन अर्का महामन्त्री विश्वप्रकाश शर्माले आफूले प्रयत्न गर्ने बताइसकेका छन् । यसले गर्दा प्रदीप पौडेललगायत देउवा समूहका रहेका धेरै युवा सांसदले गगनलाई साथ दिने सम्भावना धेरै छ । कांग्रेस महामन्त्री थापाले शनिबारदेखि संसदीय दलको नेता चयनका लागि आफूले सांसदहरूसँग भेटघाट र छलफल अघि बढाउने बताइसकेका छन् ।
अर्का महामन्त्री शर्माले पनि सर्वसम्मत नभए निर्वाचनबाटै दलको नेता चुनिने घोषणा गरिसकेकाले यसपटक कांग्रेस संसदीय दलको नेतामा चुनाव हुने सम्भावना बढेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।