काठमाडौं - ललितपुर १ मा यसपटक पनि नेपाली कांग्रेसका उदयशमशेर राणा र एमालेका नवराज सिलवालबीच नै भिडन्त हुने भएको छ ।
अघिल्लो निर्वाचनका बेला देशभर वाम गठबन्धन भएको थियो । जसकारण सिलवालले २६ हजार ९५१ मत पाएका थिए भने कांग्रेसका राणाले २० हजार ७२९ मत पाएका थिए । उनीहरुबीच करिब ६ हजार भोटको मतान्तर रहेको थियो । तर, यसपटक कांग्रेस र माओवादीबीच सहकार्य भएको छ ।
सिलवाल र राणाले प्रतिस्पर्धा गर्ने यो क्षेत्रका स्थानीय तहमा ३० वडा छन् । जसमध्ये २२ वटा वडामा कांग्रेसले जित हात पारेको थियो । स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा कांग्रेसले करिब २३ हजार आठ सय ५४ मत पाएको थियो भने एमालेले करिब १८ हजार नौ सय ९३ मत पाएको थियो ।
स्थानयि निर्वाचनकै मतलाई आधार मान्दा पनि कांग्रेस एमालेभन्दा पाँच हजारभन्दा बढी मतले अगाडि छ । त्यसमा पनि माओवादी र एकीकृत समाजवादीले कांग्रेसलाई सघाउने भएकाले सिलवाल तनावमा छन् ।
पाँच वर्षसम्म निर्वाचन क्षेत्रमा सुको काम नगरेका सिलवाल अहिले हार्ने डरले मतदाता फकाउन घरघर, खेतखेत चाहर्न लागेका छन् । सोमबार उनी ललितपुर लेलेको खेतमा मतदाता रिझाउन धान बोक्न सघाउँदै गरेका भेटिए ।
उनी सुटबुट लगाएर मतदाताको घरघर र धानखेतमा पुगेको फोटो सामाजिक सञ्जालमा पोस्ट भएको देखेपछि धेरैले उनको आलोचना गरेका छन् ।
ललितपुर १ मा कोञ्ज्योसोम गाउँपालिका, बागमती गाउँपालिका र महाँकाल गाउँपालिका पर्दछ । यस्तै, गोदावरी नगरपालिकाको वडा नम्बर १ देखि ११ सम्म र वडा नम्बर १३ पर्छ ।
वडा नम्बर १२ र १४ क्षेत्र नम्बर ३ मा पर्छ । यो निर्वाचन क्षेत्रका चारवटा स्थानीय तहमध्ये गोदावरी नगरपालिकामा कांग्रेसबाट प्रमुख र उपप्रमुख विजयी भएका थिए ।
महांकाल र बागमती गाउँपालिकामा कांग्रेस र माओवादी तथा कोञ्ज्योसोम गाउँपालिकामा एमाले र कांग्रेस विजयी भएका थिए । त्यसैले पनि योपटक कांग्रेसका राणा विजयी हुने धेरैले अनुमान गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।