काठमाडौं - ललितपुर १ का प्रतिनिधिसभा सदस्य नवराज सिलवाल आफूलाई निकै पारदर्शी भएको दाबी गर्छन् ।
प्रहरी डिआईजीबाट एकैचोटि राजनीतिमा प्रवेश गरेर सांसद बनेका उनै सिलवालका स्वकीय सचिव राजेन्द्र न्यौपाने भने एउटा सहकारीको आठ लाख खाएर फरार भएका छन् ।
न्यौपानेले व्यवसाय गर्छु भनी ललितपुरको लगनखेलस्थित अरुणिमा बचत तथा ऋण सहकारी संस्थाबाट आठ लाख रुपैयाँ ऋण निकालेका थिए । तर, २०७६ फागुन ११ गते नै उनले सो ऋण र त्यसबापतको ब्याज भुक्तानी गरिसक्नुपर्ने थियो ।
तर, एक वर्ष बितिसक्दा पनि उनी सहकारीको सम्पर्कमा आएका छैनन् । आफूले लगेको ऋणको सावाँ ब्याज भुक्तानी गर्न पटक पटक सम्पर्क गर्दा पनि बेवास्ता गर्दै उनी आउन नमानेको भन्दै अन्तिमचोटिलाई सहकारीले सात दिने सूचना जारी गरेको छ ।
यो समयमा पनि नआए कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने सहकारीले जनाएको छ । सहकारीले २०७७ फागुन ११ गतेसम्मको साँवा २३ लाख नौ हजार ७४४ र ब्याज पाँच लाख ५० हजार गरी कुल २९ लाख चार हजार ७४४ रुपैयाँ बुझाउन आउन सूचना निकाल्दै त्यसको बोधार्थ डिभिजन सहकारी कार्यालय ललितपुर र वडा प्रहरी कार्यालय लगनखेललाई दिइएको छ ।
न्यौपानेले चापागाउँमा रेस्टुरेन्ट चलाउँदै आएका छन् । उनी एमाले कार्यकर्ता हुन् । कांग्रेसलाई अनावश्यक रूपमा गालीगलौज गर्ने, आलोचना गर्नेमा उनी जिल्लामै कहलिएका व्यक्ति हुन् ।
आफ्नो पिएले सहकारीको २९ लाखभन्दा बढी रकम खाँदा पनि तिर भन्न नसक्ने सांसद सिलवालले अब कस्तो कदम चाल्ने हुन् ? प्रतीक्षाकै विषय बनेको छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।