वीरगञ्ज– पर्सामा ५४२ जनाले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका छन् । नेकपा एमालेका केन्द्रीय सल्लाहाकार परिषदका सदस्य कदम रसुल, ३ जना मधेस प्रदेश समिति सदस्य, संविधान सभा सदस्य फुलझरी देवी, इस्लाम हवारी लगायतले पार्टी परित्याग गरेका हुन् ।
उनीहरुले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै नेकपा एमालेको विभिन्न पद र जिम्मेवारीबाट सामुहिक पार्टी परित्याग गरेको बताएका छन् । जनता समाजवादी पार्टी (जसपा) सँग भएको गठबन्धन अपवित्र रहेको भन्दै उनीहरुले पार्टीको निर्णय प्रति असन्तुष्टी जनाउँदै आएका थिए ।
नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्य तथा पर्सा क्षेत्र नं १ का इन्चार्ज बाबुराम कौशिकका अनुसार पार्टीको निर्णयप्रति असन्तुष्ट नेता कार्यकर्ताहरुको शनिबार बैठक बसेको थियो । एमाले नेतृत्व जनउत्तरदायी हुनुको साटो जनभावना र पार्टीको मर्म विपरीत गएकोले बाध्य भएर पार्टी परित्याग गरेको कौशिकले बताए ।
‘एउटा राष्ट्रियताको नारा लगाउने, अर्को मधेसको मसिहा बन्ने, जसपा र एमालेको गठबन्धन अपवित्र छ । तेल र पानीको समिश्रण जस्तै हो’ उनले भने, ‘जसका कारण जनता, नेता, कार्यकर्ता मारमा परेका छन् । जन चाहना अनुसार स्वतन्त्र उम्मेदवार जिताउ अभियानमा लागेका छौं ।’ नेता कौशिक प्रभु साहको ‘स्वतन्त्र उम्मेदवार जिताऔं अभियान’ पर्साका संयोजक छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।