काठमाडौं– आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा टिकट वितरणमा ओलीले मनपरी गरेको भन्दै नेताहरुले पार्टी परित्याग गरेका छन्। ओलीले आफ्ना विरोधीहरुलाई पाखा लगाउनका लागि शीर्ष नेताहरुलाई नै टिकटबाट वञ्चित गराएका छन्। आइतबार उम्मेदवारी दर्ता गर्दा नेकपा एमालेबाट सबैभन्दा बढी बागी उम्मेदवारी परेको छ।
एमालेमा टिकट नपाएपछि प्रभावशाली नेताहरु नै विद्रोहमा उत्रिएका हुन्। एमालेका पूर्व उपमहासचिव रुपन्देही १ मा घनश्याम भुसालले एमाले केन्द्रीय सचिव छविलाल विश्वकर्माविरुद्ध बागी उम्मेदवारी दर्ता गराएका छन्। एमाले परित्याग गरेका नेता भुसालले आइतबार स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका हुन्। उनलाई सत्ता गठबन्धनले समर्थन गरेको छ।
यस्तै एमालेकी नेतृ गंगा चौधरीले स्वतन्त्र उम्मेदवारी दिएकी छन्। एमालेले दाङ–१ मा शान्ता चौधरीलाई टिकट दिएपछि उनले सोही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएकी हुन्।
नेकपा एमालेबाट टिकट नपाएपछि निवर्तमान सांसद रामवीर मानन्धरले काठमाडौं क्षेत्र नम्बर ७ बाट स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। एमालेले काठमाडौं– ७ मा श्याम घिमिरेलाई टिकट दिएको छ।
स्याङ्जा–२ मा एमाले सचिव पद्मा अर्यालविरुद्ध कपिलदेव न्यौपानेले बागी उम्मेदवारी दिएका छन्। एमाले–जसपा गठबन्धनका उम्मेदवार प्रमोद साहविरुद्ध सर्लाहीमा एमालेका मानबहादुर खड्काले बागी उम्मेदवारी हालेका छन्।
दैलेख –१ मा प्रतिनिधि सभाको लागि एमालेका गोपाल नेपालीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। एमालेले रवीन्द्रराज शर्मालाई आधिकारिक उम्मेदवार बनाएपछि नेपालीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्।
एमाले धादिङका पूर्व अध्यक्ष तथा पुराना कम्युनिस्ट नेता नेत्रराज पौडेलले धादिङ १ को (क) मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। पार्टीले युवा नेता रमेश आचार्यलाई टिकट दिएपछि पौडेलले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्। आचार्यले लामो समय एमाले अध्यक्ष केपी शर्माका स्वकीय सचिवको भूमिकामा काम गरेका थिए।
रुपन्देही ५ मा पनि एमालेमा दुई जनाको उम्मेदवारी परेको छ। नेता खिमलाल भट्टराईविरुद्ध तिलोत्तमा नगरपालिकाका निवर्तमान नगरप्रमुख वासुदेव घिमिरेले बागी उम्मेदवारी दिएका छन्। सुरुमा घिमिरेलाई दिएको टिकट खोसेर भट्टराईलाई दिएपछि घिमिरे समर्थक आक्रोशित बनेका छन्।
मनोनयनको केही समय अघि मात्रै वासुदेव घिमिरेको टिकट खोसिएको भए पनि घिमिरेले मनोनयन गरेका छन्। एमालेका जगन्नाथ बास्तोलाले कास्की ३ मा पनि बागी उम्मेदवारी दर्ता गराएका छन्। एमालेले प्रतिनिधिसभा कास्की ३ मा दामोदर वैरागीलाई उम्मेदवार बनाएको छ। वैरागीविरुद्ध बास्तोलाले दिउँसो उम्मेदवारी दर्ता गराएका थिए।
नेकपा एमाले केन्द्रीय सदस्य सहदेव बोगटीले बाजुराको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ९क० बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। एमालेले उक्त निर्वाचन क्षेत्रबाट यसअघिका संघीय सांसद लालबहादुर थापालाई टिकट दिएको छ। सर्लाही १ मा एमालेमा मानबहादुर खड्काको बागी उम्मेदवारी परेको छ।
सुर्खेत–१ को प्रदेश सभा (ख) मा एमालेका डण्डीप्रसाद शर्माविरुद खड्क बहादुर खत्रीले बागी उम्मेदवारी दिएका छन्। खत्रीले आइतबार मेहेलकुनमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर शर्मा विरुद्ध बागी उम्मेदवारी दर्ता गराएका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।