काठमाडौं । नेपाली कांग्रेस मधेस प्रदेशले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ ।
जसअनुसार सर्लाही–४ बाट महामन्त्री गगन थापाको नामसमेत सिफारिस गरेको कांग्रेस मधेस प्रदेश उपसभापति वीरेन्द्रप्रसाद सिंहले जानकारी दिए ।
उक्त क्षेत्रबाट डा.अमरेश सिंह निर्वाचित हुँदै आएका थिए । तर गत स्थानीय तह निर्वाचनमा अन्तर्घात गरेको आरोपमा अनुशासनको कारबाहीमा परेपछि क्षेत्र र जिल्लाले सिंहको नाम काटेर महामन्त्री थापाको नाम सिफारिस गरेको थियो ।
क्षेत्र र जिल्लाकै सिफारिसलाई अनुमोदन गर्दै प्रदेशले पनि सर्लाही–४ का लागि थापाकै नाम सिफारिस गरेको उपसभापति सिंहले जानकारी दिए ।
२०७० र २०७४ मा निर्वाचित भएका सिंहको नाम यसपटक अनुशासनको कारबाहीमा परेपछि काटिएको हो ।
कांग्रेस मधेस प्रदेशले शनिबार आफ्नो प्रदेशको उम्मेदवारको नामसहित केन्द्रीय कार्यसमितिलाई बुझाएको प्रतिवेदनमा सिंहको नाम कुनै पनि क्षेत्रबाट सिफारिस नगरेको उपसभापति सिंहले बताए ।
क्षेत्र र जिल्लाले आफ्नो नाम सिफारिस नगरेपछि सिंहले प्रदेशमा निवेदन दिएका थिए । सर्लाही–४ बाट आफू निर्वाचित हुँदै आएको र अहिले पनि आफ्नो नाम सिफारिस गर्नुपर्ने भन्दै अमरेश सिंहले निवेदन दिएको उसभापति सिंहले बताए । तर उनको निवेदनमाथि कुनै कारबाही नगरिएको उनले जानकारी दिए ।
गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा अन्तर्घात गरेको आरोपमा कांग्रेस सर्लाहीले अमरेश सिंहलाई अनुशासनको कारबाही गरेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।