काठमाडौं - पछिल्ला केही दिनयता एमाले अध्यक्ष केपी ओलीले विभिन्न दलका नेतालाई पार्टी प्रवेश गराउने अभियानलाई तीव्र पारेका छन् ।
खासगरी टाउकेभन्दा पनि जिल्ला र निर्वाचन क्षेत्रमा जनाधार भएका नेताहरूलाई पटकपटक भेटघाट गरी आफ्नो पक्षमा पार्ने रणनीतिमा उनी लागेका छन् । पाँचदलीय गठबन्धन चुनावसम्मै जाने संकेत देखिएपछि ओलीले अर्को विकल्प रोजेका छन् ।
एमाले नेताहरूका अनुसार ओली अहिले माओवादी केन्द्र र एकीकृत समाजवादीलाई चुनावको मुखसम्म ‘हाफ’ बनाउन गरी अघि बढिसकेका छन् । यसबीचमा ओलीले माओवादीका १०–१२ जना केन्द्रीय सदस्यलाई एमाले प्रवेश गराइसकेका छन् ।
यो भनेको माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ठूलो धक्का दिने विषय हो । प्रचण्ड अहिले कांग्रेसँग देशभर आफूले ६० सिट पाउनुपर्ने अडान राखिरहेका छन् । तर, ओलीले माओवादीका हस्ती हस्ती छानेर पार्टीमा लगिसकेका छन् ।
बुधबार मात्रै माओवादीको सिन्धुली अध्यक्षसहित दुईजना केन्द्रीय सदस्यलाई ओलीले एमाले प्रवेश गराएका छन् । केही अगाडिसम्म माओवादी नेता हरिबोल गजुरेल पनि एमाले प्रवेश गर्ने चर्चा थियो । तर त्यो अहिले सेलाएको छ ।
उता, निर्वाचनको मुखसम्म आफ्ना पाँच–सातजना सांसदबाहेक सबै गुमाउने अवस्थामा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पुगेका छन्।
एमाले अध्यक्ष ओलीले बुधबार मात्रै कञ्चनपुर पुगेर एकीकृत समाजवादीका प्रदेश अध्यक्ष कुलवीर चौधरी र तारा लामालाई पार्टी प्रवेश गराए । स्रोतका अनुसार अहिले ओलीसँग एकीकृत समाजवादीका झन्डै १५ जना सांसद ‘टच’ मा छन् ।
गठबन्धनको कार्यदलले सिट भागबन्डा लगाउने प्रयास गरिरहेकाले ओली मौन बसेका छन् । अहिले नै एकीकृत समाजवादीका अधिकांश सांसदलाई एमाले प्रवेश गराउँदा माधव नेपालको बार्गेनिङ पावर घट्ने भएकाले ओलीले दुई चार दिन मौन बस्ने नीति लिएको एमालेका एक नेताले बताए ।
चुनावको बेलासम्म माओवादी र एकीकृत समाजवादीका झन्डै ५० प्रतिशत मतदाता आफ्नो पार्टीमा प्रवेश गराएर सबैभन्दा ठूलो दल बन्ने रणनीतिमा ओली लागेको बुझिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।