पोखरा । पोखरा महानगरपालिकाका निवर्तमान मेयर मानबहादुर जिसीले सरकारी जग्गा भाडामा लगाएको खुलेको छ। आफ्नो पदावधि सकिनुभन्दा ४८ घण्टा अगाडिमात्रै जिसीले विवादास्पद निर्णय गरेर सरकारी जग्गा निजी क्षेत्रलाई दशकौंका लागि भाडामा दिएको खुलेको हो। पोखरा उपत्यका नगर विकास समितिका नाममा रहेको सरकारी जग्गालाई जिसीले भिन्नभिन्न प्रयोजनका लागि निजी कम्पनीलाई सुम्पिएका हुन ।
यहाँसम्म कि कागज मिलाएर सम्झौता समेत गरिसक्दा १० जना सदस्य रहेको समितिका एकजनाले पनि सुइँको पाएनन् । मेयर जिसीले उपत्यका नगर विकास समितिका कर्मचारी अशोक सुनारलाई तोकादेश गराएर सम्झौता समेत गरिसक्दा अन्य कर्मचारीले चाहिँ गतहप्ता असार १२ गते मात्रै थाहा पाएका थिए । समितिको सदस्यसचिव पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहन्छन् । तर, सदस्य सचिव बलराम रिज्यालले पनि सोमबार मात्रै उक्त निर्णयबारे आफूले जानकारी पाएको बताए ।
समितिको सदस्यमा जिल्ला समन्वय समितिले तोकेको १ जना सदस्य, प्रमुख जिल्ला अधिकारी वा निजले तोकेको १ जना अधिकृत, वन, भूमि तथा नापी सम्बन्धी स्थानीय तह वा जिल्लास्थित प्रतिनिधि, नगर कार्यपालिका वा गाउँ कार्यपालिकाबाट तोकिएका ३ सदस्य, स्थानीय विकासमा महत्वपूर्ण योगदान गर्ने १ महिलासहित २ जना र समितिको सदस्य सचिवको रुपमा सम्बन्धित स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था ऐनमा छ ।
१० जना सदस्य रहने समितिको बैठक नै नडाकी समितिका अध्यक्ष मेयर जिसी आफैँले गत जेठ ३ गते सम्झौता गरेको खुलेको हो । जबकि जेठ ५ गतेदेखि उनको पाँचवर्षे कार्यकाल सकिँदै थियो ।
कार्यकाल सकिनुभन्दा २ दिन अगाडि नै उनले राष्ट्रबैंक चोकमा रहेको पर्यटन बसपार्क, गल्फकोर्सको जग्गा र पृथ्वीचोकमा रहेको सवारीचालक अनुमतिपत्रको लागि ट्रायल दिने स्थानको जग्गा सम्झौता गरेर १० वर्षको लागि व्यापारीलाई सुम्पेका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।