काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विदेशमा रहेका नेपालीलाई समानुपातिक प्रणालीमा मतदानको अधिकार दिन निर्वाचन आयोगले इच्छाशक्ति देखाउनुपर्ने बताएका छन् ।
मंगलबार निर्वाचन आयोगमा पुगेर कांग्रेस महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले विदेशमा रहेका नेपालीलाई पनि मतदानको अधिकार दिन ज्ञापनपत्र बुझाएका छन् ।
आयोगलाई पत्र बुझाएपछि आयोजित पत्रकार सम्मेलनमा महामन्त्रीद्वय थापा र शर्माले सर्वोच्च अदालतले सरकारका नाममा परमादेश नै जारी गरिसकेकाले यसपटकको निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिलाउनुपर्ने बताए ।
‘निर्वाचन नै नहुने कतिपय देशमा नेपालीलाई मतदानको अधिकार दिन त्यहाँको कानुनले अप्ठेरो पार्ला, तर जुन जुन देशबाट सम्भव छ त्यहाँ अहिले नै सुरुवात गर्नुपर्छ,’ थापाले भने, ‘यस विषयमा सर्वोच्च अदालतले परमादेश नै दिइसकेको छ ।
राजनीतिक दलहरूबीच पनि पटक पटक छलफल भएको छ । कांग्रेसले पनि यो विषयलाई पहिलेदेखि नै उठाएको छ ।’ उनले अझै पनि चार–पाँच महिनाको समय बाँकी रहेकाले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिन सकिने उल्लेख गरे ।
निर्वाचन आयोगले काम सुरु गरेलगत्तै सरकारले यसमा सक्दो सहयोग गर्नुपर्ने उनको भनाइ छ । कांग्रेसका अर्का महामन्त्री शर्माले हरेक विषय कांग्रेसकै अगुवाइ र नेतृत्वमा हुने गरेको जिकिर गर्दै यो विषय मौलिक हकअधिकार पनि भएको बताए ।
थापा र शर्माले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिन ध्यानाकर्षण गराएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।