काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा एमालेले ठूलो क्षेति व्यहोरेको छ। झापा–५ ओलीको निर्वाचन क्षेत्र हो।
यो क्षेत्रमा उनको गृहनगर दमक र गौरादह नगरपालिका तथा कमल गाउँपालिका र गौरीगन्ज गाउँपालिका गरी चार स्थानीय तह पर्छन्। यी चारमध्ये यसपटक एमालेले गौरादह नगरमात्रै जित्न सक्यो। बाँकी तीन स्थानीय तहमा गठबन्धन विजयी भयो।
ओलीको निर्वाचन क्षेत्रमा एमालेले यसपटक चुनावी धक्का व्यहोरेको छ। सबभन्दा ठूलो धक्का एमालेले दमकमा सहनु परेको छ। दमकका एमालेइतर अधिकांश दलहरू नगरमा जारी एमाले दबदबा अन्त्य गर्न चाहन्थे। तर, बलियो संगठन र उस्तै बलियो विरासतको बलमा एमालेले अरूलाई दमकमा चान्स दिँदैनथ्यो।
यसपटक भने सत्ता गठबन्धनका दलहरूले उनीहरूकै भाषामा ‘चौडा छाती’ पारेर राप्रपालाई मेयर दिने प्रस्तावमा सहमति गरे। १७ हजार ५२५ मत प्राप्त गर्दै राम थापा दमकको मेयर चुनिए। एमालेबाट उम्मेदवार बनेकी गीता अधिकारीले १६ हजार ९६६ मत मात्रै प्राप्त गरिन्। उपमेयरमा पनि महागठबन्धनकै कांग्रेस उम्मेदवार रेगिना भट्टराई १७ हजार ७२ मत ल्याएर विजय भइन्। एमालेका अम्बिका खनालले १६ हजार ५७४ मत पाए।
यसरी पहिलो पटक दमकमा एमालेले मेयर र उपमेयर दुवै पद गुमायो। स्थानीय चुनावअघि एमालेले राप्रपासँग सहकार्यको पहल गरेको थियो। तर, एमाले राप्रपालाई उपमेयर मात्रै दिन सकिने अडानमा थियो। त्यहीबेला सत्ता गठबन्धनका दलहरू राप्रपालाई मेयर दिन राजी भएका थिए।
ओलीको निर्वाचन क्षेत्रमै पर्ने कमल गाउँपालिकामा २०७४ देखि नै एमालेले धक्का सहेको थियो। आफ्नो पकडस्थल भनेर उसले दाबी गर्दै आएको गाउँपालिकामा त्यसबेला एमालेकी मेनुका काफ्ले र कांग्रेसका हुकुमसिंह राईको बराबरी मत आएको थियो। मत बराबरी भएपछि कमलको अध्यक्ष छान्न गोला गर्दा चिट्ठा एमालेको भागमा पर्यो। मेनुका काफ्लेले प्रदेशकै एक मात्र महिला प्रमुखका रूपमा पहिलो कार्यकाल पूरा गरिन्।
यसपटक कांग्रेसका हुकुमसिंहले नै अध्यक्षमा जितेका छन्। सत्ता गठबन्धनबीच मात्रै तालमेल भएको कमलमा राप्रपा अलग्गै भिडेको थियो। अन्तिम चुनावी नतिजा अनुसार कांग्रेसका राईले १२ हजार ८६८ मत ल्याएर अध्यक्ष जिते।
एमाले उम्मेदवार भीम राईले ९ हजार ६५३ मत पाए। उपाध्यक्ष भने एमालेकी प्रमिला न्यौपाने तिवारीले १० हजार ८४५ मत ल्याएर जितिन्।
गौरीगन्ज गाउँपालिकामा यसपटक अध्यक्ष कांग्रेसले जित्दा एमालेले उपाध्यक्षमा चित्त बुझाएको छ। अध्यक्ष फूलवती राजवंशी ५ हजार ६८९ मत प्राप्त गर्दै विजयी बन्दा एमालेका विजय अग्रवालले ३ हजार ३३० मत पाए। उपाध्यक्षमा एमालेकी पुजन न्यौपाने ४ हजार ७५५ मत ल्याएर जित्न सफल भइन्।
गौरीगन्जमा २०७४ मा राप्रपा विजयी भएको थियो। यसपटक राप्रपा गौरीगन्जमा तेस्रो मात्रै बन्यो। आफ्नो क्षेत्रका महत्वपूर्ण तीन वटा स्थानीय तह गुमाउँदा एमालेले गौरादह नगरपालिकामा मात्रै जित हासिल गरेको छ।
२०७४ मा कांग्रेसले आश्चर्यजनक जित हात पारेको गौरादहमा एमालले यसपटक राम्रो ‘कमब्याक’ गरेको छ। १२ हजार ८४९ मत प्राप्त गर्दै प्रमुख पदमा एमालेका उम्मेदवार छत्रपति सुवेदी निर्वाचित भए।
उनले नेपाली कांग्रेसका रोहितकुमार साहलाई पराजित गरेका हुन्। साहले ११ हजार ४४८ मत प्राप्त गरे। गौरादहमा यसअघि कांग्रेसलाई साहले नै जित दिलाएका थिए। उपप्रमुखमा पनि एमाले उम्मेदवार जलवर्षा राजवंशी विजयी भएकी छन्। राजवंशीले ११ हजार ९१४ मत प्राप्त गर्दै जितेकी हुन्। यो नतिजाले संसदीय निर्वाचनमा ओलीले धक्का व्यहोर्नुपर्ने विश्लेषण हुन थालेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।